काठमाडौं ।
निर्वाचन प्रयोजनका लागि भर्ना गरिने प्रहरीका लागि देशभरबाट कुल एक लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीले माग गरेको संख्याभन्दा समग्रमा आवेदन बढी आए पनि ३६ जिल्लामा भने मागभन्दा कम आवेदन परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म उक्त संख्यामा आवेदन दर्ता भएका हुन् ।
नेपाल प्रहरीले देशभर निर्वाचन सुरक्षाका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न माग गरेको थियो । सोअनुसार आवेदन आह्वान गर्दा कुल मागभन्दा झन्डै ३९ हजार बढी आवेदन परे पनि भौगोलिक असन्तुलन देखिएको छ । विशेष गरी दुर्गम र कम जनसंख्या भएका ३६ जिल्लामा मागअनुसार आवेदन नपरेको डीआईजी काफ्लेले बताए ।
उनका अनुसार मागभन्दा कम आवेदन परेका जिल्लामा अन्य जिल्लाबाट आवश्यक संख्यामा प्रहरी व्यवस्थापन गर्ने तयारी गरिएको छ । प्राप्त आवेदनको प्रारम्भिक छानबिनपछि तालिम तथा परिचालन प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाएको छ ।











प्रतिक्रिया