काठमाडौं।
नेवाः पत्रकार राष्ट्रिय दबुले सोमबार नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिनासहित ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ ।
१ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीको पर्यटन बोर्डमा आयोजित एक समारोहकाबीच सो सम्मान प्रदान गरिएको हो।सम्मानित हुनेहरुमा भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ रहेका छन् । उनीहरुलाई पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले फुलमाला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का वरिष्ठ उपाध्यक्ष अमरध्वज लामाले खादा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपपप्रधानमन्त्री उपेन्द्र यादवले सम्मान पत्र प्रदान गरे।
सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताको सार्थक अभ्यासले मात्र महिला हकअधिकारसहित समावेशी शासन व्यवस्था अनुभुत गराउने धारणा राखे। नेपाली जनताले आत्मसम्मान र सबैको पहिचानलाई सम्बोधन गर्न संघीयता खोजेको भएपनि अहिलेको पाँच विकास क्षेत्रको जस्तो संघीयताले देश र जनताको समस्या सही ढंगले सम्बोधन नहुने पनि उपप्रधानमन्त्री यादवको भनाई रहेको छ।महिला र अझ उत्पीडित वर्ग र समुदायको महिलालाई जुनसुकै क्षेत्रमा चुनौती भोग्नुपरिरहेको उल्लेख गर्दै उनले ती चुनौतीका बाबजुढ क्रियाशील विभिन्न समुदायका महिला पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभूत भएको बताए।
सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामाले समावेशी पत्रकारिताले मात्र विविध क्षेत्रका जनताको आवाजलाई मुखरित गर्न सक्ने विचार व्यक्त गरे।
नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार किरण शाक्यले नेपालको पहिलो महिला पत्रकार साधना प्रदान योगदान, संघर्षलाई स्मरण गर्दै पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष महिला पत्रकारलाई सम्मान गर्दै महिला पत्रकारको विकास लागि कार्य गरिरहेको बताए।सम्मानित हुनेहरुको तर्फबाट नेपाल टेलिभिजनका पवनवर्षा शाहले सम्मानले महिला पत्रकारहरुलाई उत्साहित तुल्याएको बताइन्।
पत्रकार राष्ट्रिय दबूका सल्लाहका विजयरत्न तुलाधर, निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्य,वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष रचना श्रेष्ठ, सचिव राजु नापित, सहसचिव सुनिता महर्जन, केन्द्रीय सदस्य अनिता महर्जन लगायतले पत्रकारितामा लैगिक संवेदनशीलता र समावेशीको महत्वबारे केन्द्रित गर्दै आ आफ्नो धारणा राखे ।











प्रतिक्रिया