काठमाडौं ।
नेपाली टोलीले थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । नेपालले बैंककस्थित नन्थाबुरी स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको हो ।
४० मिनेटको खेलको पहिलो हाफमा नेपालले ४–० को अग्रता लिएको थियो । जसमा, जेनिफर रानाले २ तथा विमला चौधरी र मनिषा थापा मगरले समान १ गोल गरेका थिए ।
चौथो मिनेटमा जेनिफरको गोलमा नेपालले अग्रता लियो । विमलाले ११ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । लगत्तै अर्को मिनेटमा जेनिफरले गोल थपिन् । १८ औं मिनेटमा मनिषाले गोल गरेपछि नेपालले पहिलो हाफमा नै खेलमै जितिसकेको थियो । दोस्रो हाफमा एक गोल थपियो जुन गोल आत्मघातीमार्फत् आएको थियो ।
पहिलो पटक आयोजना भएको महिला साफ च्याम्पियनसिपमा नेपालको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ बराबरी खेलेको थियो । जुन खेलमा नेपालले २–१ को अग्रता बनाइसकेको थियो । तर, दोस्रो गोल बेहोरेर नेपालले बराबरी खेल्न बाध्य भएको थियो ।











प्रतिक्रिया