कामपा मेयर बालेनले माघ ४ गते राजीनामा दिने: मेयरसँगै २१ जना पदमुक्त हुँदै

23.22k
Shares

पदमुक्त हुनेहरूमा

–सहरी योजना आयोग उपाध्यक्ष

–६ जना विज्ञ सदस्य

–१५ जना सदस्य

काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माघ ४ गते राजीनामा दिने हुनुभएको छ । मेयर साहसँगै कामपा सहरी योजना आयोगका उपाध्यक्ष, सदस्य विज्ञ र सहायक विज्ञसमेत पदमुक्त हुनेछन् । सबै विज्ञ र सहायक विज्ञको संख्या जोड्दा करिब २५ जना छन् । सहरी योजना आयोगका अध्यक्ष मेयर हुने कानुनी व्यवस्था छ ।

कामपा स्रोतकाअनुसार मेयर साहले राजीनामा दिएपछि सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीसहितको टोली पदमुक्त हुन लागेको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन २०७५ मा आयोगमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आमन्त्रित सदस्य रहने व्यवस्था छ । सदस्यहरूमा कार्यपालिकाबाट नियुक्त एकजना, प्रमुखबाट नियुक्त कम्तीमा दुईजना महिलासहित नौ जना सदस्य र सहरी योजना आयोग सचिवालयका एकजना सचिव रहने व्यवस्था छ ।

मेयर साहले तीन दिनपछि राजीनामा दिएसँगै कामपाभित्र हरेक विभागको जिम्मेवारी लिएर बसेका सहायक विज्ञको पदमुक्त हुने व्यवस्था छ । ऐनको दफा ११ को ‘क’ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा उपाध्यक्ष पदमुक्त हुने व्यवस्था छ । उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले आफू कानुनी रूपमा दोस्रोपटक पुनः उपाध्यक्षमा फर्किएको कारण राजीनामा दिन नपर्ने जिकिर गर्दै भन्नुभयो– ‘तैपनि एक दुई दिनमा कानुनी सल्लाहकारसँग परामर्श गरेर निर्णय गर्नेछु ।’ ऐनमा स्पष्ट लेखिएको अवस्थामा उहाँको पद स्वतः रिक्त हुने कामपा स्रोतले जानकारी दिएको छ । उपाध्यक्षसँगै विज्ञ सदस्य पनि पदमुक्त हुनेछन् ।

ऐनको परिच्छेद–५ को दफा १७ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा सहायक विज्ञको स्वतः पदमुक्त हुने उल्लेख छ । माघ ४ गतेबाट करिब १५ जना सहायकविज्ञ पदमुक्त हुनेछन् । मेयर साहले विषयगत क्षेत्रमा विज्ञता हासिल गरेका बढीमा १५ जना व्यक्तिलाई समय तोकी सहायक विज्ञमा मनोनयन गर्नुभएको थियो । कामपा स्रोतका अनुसार आयोगमा उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, विज्ञसदस्यहरू डा. सुरजराज काफ्ले, बाबुराम भट्टराई, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज शाक्य र सुमन प्रधानको पदमुक्त हुनेछ ।

त्यस्तै, सहायक विज्ञहरू कार्यरत शोभना राजभण्डारी, रजिता शाक्य, सन्तोष पाण्डे, पुरुषोत्तम महत, प्रतिक्षा राई, सुदिप ढकाल, विवेक बाँस्तोला, आनन्द मानन्धर, रोहितकृष्ण मानन्धर, प्रतीक श्रेष्ठ, राजु व्यञ्जनकार, अनुकूल निधि, सस्मित पोखरेल, सुरेन्द्र बजगार्इं, सोनी भट्टराई पदमुक्त हुनेछन् । आयोगमा कार्यरत विज्ञ सदस्य र सहायकविज्ञले छैटौंदेखि आठौं तहको सुविधा उपलब्ध गर्नेगरी नियुक्ति दिएको थियो । आयोगमा ६ विज्ञ र १५ सहायक विज्ञसहित २१ जना कार्यरत छन् ।
मेयर साहले ४ गते राजीनामा दिएर ५ गते जनकपुरमा हुने चुनावी घोषणा सभालाई रास्वपाका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम अघि आयोगका उपाध्यक्षसहित सबैको पदमुक्त हुने कानुनी व्यवस्था छ । राजीनामा दिने मुड बनाउनुभएका मेयर साहले केपी ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
त्यसै गरी मेयरको टिमले कामपा छाड्ने भएपछि सचिवालयले प्रयोग गरेका सबै सामग्री फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ । अब ३ दिन बाँकी हुँदा मेयर साह र उहाँका सबै टिमले महानगर छाड्ने तयारी गरेका छन् । टिममध्ये मेयरका स्वकीय सचिव भूपदेव साह अछामबाट प्रतिस्पर्धा गर्दै छन् भने केहीको टुङ्ग्याउन बाँकी छ । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेको काठमाडौैैैैं–४ बाट उठ्ने तयारी छ । उहाँले यस विषयमा कुरा भइरहेको तर निर्णय गरिनसकेको जानकारी दिँदै भन्नुभयो– ‘राजीनामा दिने वा नदिने भन्ने विषयमा सल्लाह भइरहेको छ ।’