काठमाडौं ।
२०१० मा पहिलो विभाजन
नेपाली कांग्रेस २०१० वैशाख १६ मा पहिलोपटक विभाजित भयो । यसको मुख्य कारण बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको आन्तरिक द्वन्द्व थियो । २००७ मा राणा शासन अन्त्य भएपछि बनेको सरकारमा बीपी गृहमन्त्री बन्नुभयो तर छोटो समयमै राजीनामा दिनुभयो । २००८ मंसिर १ मा मातृका प्रधानमन्त्री बन्नुभयो तर बीपी समूहले उहाँलाई समर्थन गरेन ।
२००९ जेठ १०–१३ मा काठमाडौंमा भएको पाँचौं महाधिवेशनमा बीपीलाई अध्यक्ष निर्वाचित गरियो । पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो । उहाँले नमानेपछि पार्टीले कारबाही ग¥यो । साउन १० मा मातृका, नारदमुनि थुलुङ, महावीर शमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएका थिए ।
त्यसपछि भद्रकाली मिश्रले ‘जन कांग्रेस’, बालचन्द्र शर्मालगायतले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गर्नुभएको थियो । अन्ततः २०१० वैशाख १६ मा मातृकाले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ स्थापना गर्नुभयो जसले कांग्रेसको पहिलो औपचारिक विभाजन भएको चित्रित ग¥यो ।
२०५९ मा दोस्रो विभाजन
कांग्रेसभित्र कलह चुलिँदै थियो । यसैक्रममा २०५७ साल माघ ९ मा कास्कीको पोखरामा कांग्रेसको दशौं महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो ।
सभापतिका लागि भने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कोइराला र जोशी दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो भने देउवा पहिलो पटक उम्मेदवार हुनुभएको थियो । त्यसमा फेरि गिरिजाप्रसाद कोइराला सभापतिमा चुनिनुभएको थियो । तर, त्यस महाधिवेशनको वर्ष दिनपछि नै कांग्रेस टुक्रियो । देउवा प्रधानमन्त्री बनेका बेला माओवादी दबाउनका लागि संकटकाल लगाइएको थियो । संकटकालको अवधि थप्ने विषयमा कांग्रेसमा विवाद चर्कियो ।
त्यो विवादका बीच पार्टीले सहमति नदिँदा पनि देउवाले जबरजस्ती गर्नुभयो र संकटकालको अवधि थप्नुभयो । यही कारण विवाद बढेपछि कांग्रेस विभाजनतर्फ गयो । २०५९ असार पहिलो साता त्यो समयमा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरूको भेला गर्नुभएको थियो । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेसँगै कांग्रेस दोस्रो पटक विभाजन भएको थियो ।
२०८२ मा तेस्रो विभाजन
आठ दशक लामो इतिहास रचेको नेपाली कांग्रेस २३ वर्षपछि फेरि विभाजित भएको छ । २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच टकराब हुँदा नेपाली कांग्रेस दोस्रोपटक विभाजित भएको थियो । त्यति बेला विभाजनका मूल पात्र देउवा नै हुनुहुन्थ्यो । त्यसो त पहिलो पटक २०१० सालमा बीपी कोइराला र मातृका कोइरालाबीच पनि टकराब थियो र पार्टी विभाजन भएको थियो । नेतृत्वको कार्य शैलीका कारण बुधबार नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएसँगै नयाँ अध्याय थपिएको छ ।
पहिलो पटकको विभाजन छोड्ने हो भने अहिलेको विभाजनमा पनि शेरबहादुर देउवा नै जोडिनुभएको छ । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रूपान्तरणको माग अघि सारेका बेला पार्टी सभापतिसमेत रहनुभएका देउवा गगन–विश्वका मागप्रति सहमत नहुँदा पार्टी विभाजित भएको हो । अहिलेको विभाजनका मूल पात्रका रूपमा देउवा नै चिनिनुभएको छ ।
विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना नेपाली कांग्रेसको जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शमशेरले नै महाधिवेशन बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको यो दोस्रो विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ । तर विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ । अब यो विभाजनले कांग्रेसलाई दुई चिरा पारेको छ र कुन कांग्रेस आधिकारिक भन्ने कानुनी झमेला पनि सुरु भएको छ ।











प्रतिक्रिया