–विशेष महाधिवेशनबाट गगन बने पार्टी सभापति
–आधिकारिकता विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने
काठमाडौं।
लामो समयको शक्ति संघर्षपछि मुलुकको प्रमुख लोकतान्त्रिक दल नेपाली कांग्रेस दुई टुक्रा भएर फुटेको छ । बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाहा मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेपछि कांग्रेस फुटेको हो । कांग्रेस केन्द्रीय समितिले गगन–विश्वप्रकाशलाई कारबाही गरेलगत्तै कांग्रेसकै जारी विशेष महाधिवेशनले गगनलाई पार्टी सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
यससँगै अब दुईवटा कांग्रेस भएका छन् । शेरबहारदुर देउवाको अध्यक्षता र पूर्णबहादुर खड्काको कार्यवाहक अध्यक्षतामा रहेको कांग्रेस र गगनको नेतृत्वमा रहेको कांग्रेसको जन्म भए पनि अब आधिकारिक कांग्रेस को हुने भन्नेमा कानुनी लडाइँ सुरु हुने भएको छ । केही दिनदेखि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुग्दै आएको थियो । बुधबार दुवै पक्षका नेताहरू पार्टीमा एकता गर्न प्रयासरत देखिए पनि अन्तिममा दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नदेखिएपछि कांग्रेस दुई टुक्रा भएको हो । देउवाको नेतृत्वमा रहेको कांग्रेस र विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा बनेको कांग्रेसबीच अब को आधिकारिक भन्ने विषय निर्वाचन आयोग हुँदै अदालतसमक्ष पुग्ने भएको छ । दुवै कांग्रेसले आ–आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् ।
आयोगलाई संस्थापन कांग्रेसको पत्र
नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ ।
सभापति शेरबहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो । यसका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पत्रसमेत आयोगमा पठाइएको छ ।
संस्थापनले कारबाही गर्दा लिइएका आधारहरू यस्ता छन्
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको छ । कारबाहीका लागि बैठकले ४ आधार प्रस्तुत गरेको छ ।
१. समानान्तर अभ्यास : केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको ।
२. अनधिकृत महाधिवेशन घोषणा : मिति २०८२÷०९÷२९ गते ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनधिकृत रूपमा पारित गरेको र महामन्त्रीद्वयले संयुक्त प्रतिवेदन पेस गरी छलफल गराएको ।
३. समानान्तर निर्वाचन तालिका : निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको र मिति २०८२÷०९÷३० गते महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति र अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्तसमेत दिएको ।
४. पार्टीलाई हानि नोक्सानी : पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष÷अप्रत्यक्ष हानि नोक्सानी पु¥याएको ।
यी गतिविधिहरू पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरीत रहेको ठहर गर्दै उनीहरूलाई विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।
देउवा नेतृत्वको कांग्रेस भंग भइसकेकाले पत्रको औचित्य छैन : गगन
विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापाले देउवा नेतृत्वको कार्यसमिति भंग भएको जानकारी निर्वाचन आयोगमा गइसकेको बताउनुभएको छ । थापाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएर विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकेकाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गनुर््भयो । थापाले भन्नुभयो– ‘मलाई निर्वाचन आयोगलगायत सबै संस्थाहरूप्रति विश्वास छ । बहुमत महाधिवेशन प्रतिनिधिहरू जम्मा भएर विधिसम्मत ढंगले आएको परिणामलाई आयोगले मान्यता दिनेछ । मलाई कानुन र संविधानप्रति विश्वास छ ।’
कांग्रेस फुट्दा लोकतन्त्रलाई पर्ने सम्भावित खतरा यस्ता छन्
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दलमात्र होइन, नेपालको लोकतान्त्रिक यात्राको मेरुदण्ड मानिन्छ । यही दलको विभाजनले निम्न गम्भीर जोखिमहरू निम्त्याउन सक्ने विश्लेषण गरिएको छ ।
१. लोकतान्त्रिक शक्ति कमजोर हुनु : कांग्रेस कमजोर हुँदा लोकतन्त्रको पक्षमा उभिने संस्थागत शक्ति क्षीण हुन्छ । यसले निरंकुश प्रवृत्ति, शक्ति केन्द्रीकरण र अधिनायकवादी सोचलाई टाउको उठाउने अवसर दिन सक्छ ।
२. राजनीतिक अस्थिरता र शासन संकट : ठूलो दल फुट्दा मुलुकमा राजनीतिक अस्थिरता छाउन सक्छ । अहिले निर्वाचन तोकिए पनि त्यसलाई समेत असर पुग्न सक्छ ।
३. निर्वाचन प्रणालीप्रति जनविश्वास कमजोर : विवाद आयोग र अदालतसम्म तानिँदा निर्वाचन संस्था र न्यायिक निकायमाथि राजनीतिक दबाब बढ्ने खतरा रहन्छ । यसले निर्वाचन प्रणालीप्रति आमनागरिकको विश्वास घटाउन सक्छ ।
४. चरम ध्रुवीकरण र सडक राजनीति : कांग्रेस विभाजनले समर्थकहरूलाई दुई कित्तामा बाँड्दै सडक संघर्ष, प्रदर्शन र सम्भावित हिंसाको जोखिम बढाउन सक्छ । लोकतन्त्र संवाद होइन, टकरावतर्फ धकेलिन सक्छ ।
५. लोकतान्त्रिक र संविधानवादी विकल्प सीमित : कांग्रेस कमजोर हुँदा मध्यमार्गी, लोकतान्त्रिक र संविधानवादी विकल्प सीमित बनाइदिन्छ । यसले चरम विचारधारालाई राजनीतिक स्पेस फराकिलो बनाइदिन्छ ।











प्रतिक्रिया