म्याग्दी।
म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा मेला लगाइएको हो ।
बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना र निरन्तरता, स्थानीय खानाको प्रचारप्रसार, कला, संस्कृति र भेषभूषाको प्रदर्शन, प्रतिभा पहिचान र सुस्ताउँदै जान थालेको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै जिल्लामा आन्तरिक तथा बाहय पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला लगाइएको आयोजकले जनाएका छन् । मेलाको अवसर पारेर म्याग्दी जिल्लाको ग्रामीण भेगमा किसानहरुले उत्पादन गरेका कृषिजन्य उपजहरुको समेत प्रदर्शनी सुरु गरिएको छ ।

माघेसङ्क्रान्ति मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानी र सुरक्षाको वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा हुने हरेक प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरिरहेको बताउँदै निजी क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा घोषणा गरी राज्यले सुरक्षाको प्रत्भाभूति दिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले २०४६ सालदेखि नै देशमा भएका हरेक आन्दोलनहरुमा निजी क्षेत्र चपेटामा परिरहेको भए पनि देशमा ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गरेको र ५० प्रतिशतबढी देशको राजश्वमा योगदान पु¥याइरहेको बताउनुभयो ।

व्यवसायी तथा उद्यमी समेत रहनुभएका अध्यक्ष ढकालले नेपालमा रहेको प्राकृतिक स्रोतसाधन र आन्तरिक पूँजीको परिचालनबाटै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । निजी क्षेत्रको लगानीमा निर्माण हुने जुनसुकै आयोजनाहरुमा पनि राज्यको तर्फबाट सुरक्षाको व्यवस्था मजबुत बनाउनुपर्ने भन्दै उहाँले निजी क्षेत्रले सञ्चालन गर्ने आयोजनाहरुमा लगानीको सुरक्षा र भरपर्दो वातावरण निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘हाम्रो देश नेपालमा धेरै सम्भावनाहरु छन् । नेपालकै आन्तरिक पूँजी परिचालन गरेर भए पनि धेरै ठूला आयोजनाहरु बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले एलटिपी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी १० अरबको लगानीमा सञ्चालन गरेका छौँ । १० अरबलाई क्यापिटल पूँजीकै रुपमा राख्ने हो भने ४०/५० अरबसम्मका आयोजनाहरु निर्माण गर्न सकिन्छ ।’ ‘त्यसका लागि हामीलाई केबल खाँचो छ भने जेनियुन हिसाबले लिडरसिप लिएर, जेनियुन हिसाबले प्रोजेक्टहरु अगाडि बढाउन सकियो भने, टाइममा त्यो प्राजेक्ट कम्प्लिट गर्न सकेमा दिएको बजेटले बनाउन सकियो भनेचाहिँ क्वालिटीमा कम्प्रमाइज नगरिकन टाइम, बजेट र क्वालिटीमा बनाएर अगाडि बढ्न सकेमा धेरै कामहरु गर्न सकिन्छ’, उहाँले थप्नुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले उद्योग वाणिज्य संघमार्फत हरेक तीनतीन वर्षको अन्तरालमा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिमार्फत दुईदुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला आयोजना गर्ने गरिएको बताउँदै यसबाट जिल्लाको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मेला महोत्सवले जिल्लामा पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रचारप्रसार तथा संरक्षण र प्रतिभा पहिचानमा सहयोग पु¥याइरहेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठको अध्यक्षता र महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमको द्वितीय उपाध्यक्ष दिलु घताने गुरुङले धन्यवाद मन्तव्यसहित समापन गर्नुभएको थियो । मेलाको अवसरमा आठजना महिला उद्यमीहरुलाई सम्मान गरिएको छ ।

आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनहरुको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएको छ । मेलामा कृषि र औद्योगिक उत्पादनहरु, विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, लोकनृत्यसहित झाँकी र कलाकारहरुको विभिन्न प्रस्तुती, उद्यमीहरुको बीचमा टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतिसर््पर्धालगायत कार्यक्रमहरु रहेको मूल संयोजक एवं सभापति श्रेष्ठले जानकारी दिनुभयो ।











प्रतिक्रिया