हेटौंडा ।
मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोततर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपियाँ संशोधित बजेट पारित गरेको हो ।
पालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको बजेट कार्यक्रमलाई अध्यक्ष लोकबहादुर मुक्तानले निर्णयार्थ पेश गर्दा कार्यपापलिका सदस्यहरुले सर्वसम्मत्रुपमा पारित गरेका थिए । कैलाशले चालुतर्फ आन्तरिक स्रोततर्फबाट ९ करोड ४२ लाख रुपियाँ, पुँजीगततर्फ १५ करोड ४८ लाख रुपियाँसहित कुल २४ करोड ९१ लाख रुपियाँ संशोधित बजेट कार्यान्वयनमा लैजाने भएको छ । यसअघि असार १० मा पालिकाले ५४ करोड २९ लाख रुपियाँ बजेट ल्याएको थियो । कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदानबापत रकम भने संशोधन गरेको छैन । कैलाशले १७ वटा आयोजनाहरु कटौती तथा हटाएको छ भने ४३ वटा योजनाहरु थप गरेको छ । १४ योजनामा रकम घटाउनुका साथै ४ योजनामा रकम थप गरेको छ ।
सभामा विद्यायन समिति संयोजक भुवनसिं घलानले पालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, पालिकाको बेरुजु फस्र्यौट कार्यविधि २०८२, पालिकाको लेखासमिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए ।
सभामा चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत चेलीहरुलाई नगदसहित सम्मान गरिएको थियो । १२ कक्षा उत्तीर्णपश्चात २० वर्ष पूरा भइ विवाह गर्ने ७ चेलीलाई नगद बीस हजारसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कैलाश–९ की आइस्का थापा, कैलाश–१० की कुमारीमाया स्यांतान र एस्तर प्रजा, कैलाश–१ की बिमला थापामगर र रिता थापामगर, कैलाश–२ की पुष्पा प्रजा, कैलाश–५ की सिर्जना दर्लामीमगर छन् ।
स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभुत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोद्धिन राउत र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुबेदीलाई नगदसहित सम्मान गरिएको थियो । प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश–९ मा कार्यरत सवइञ्जिनियर धीरेन्द्र राई, कैलाश–२ का वडा सचिव नितेशकुमार यादब, कैलाश–१ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश–८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगदसहित सम्मान गरिएको थियो ।
शिक्षा क्षेत्रतर्फ एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय कमलादेवी माध्यमिक विद्यालय, एसईईमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्यांबो, कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगदसहित पुरस्कृत गरिएको थियो । निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स सञ्चालक सुनील शर्मा, उपभोक्ता समितितर्फ बाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश–८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सूर्यबहादुर थिङलाई नगदसहित सम्मान गरिएको थियो ।











प्रतिक्रिया