रियल मेड्रिडको जिम्मेवारी आर्बेलोआलाई


लन्डन, (एजेन्सी) ।

स्पेनिस फुटबल महारथी रियल मेड्रिडले मुख्य प्रशिक्षक जाबी अलोन्सोलाई पदमुक्त गरेपछि आल्भारो आर्बेलोआले जिम्मेवारी पाएका छन ।

नियुक्ति भएको आठ महिना नपुग्दै क्लबले अलोन्सोसँगको सम्झौता आपसी सहमतिमा अन्त्य गरेको औपचारिक घोषणा गरेको हो । अलोन्सोको बहिर्गमनसँगै रियलले क्लबका पूर्व डिफेन्डर एवं ‘बी’ टोलीका प्रशिक्षक ४२ वर्षीय आल्भारो आर्बेलोआलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त ग¥यो ।

आर्बेलोआले पहिलो पटक सिनियर टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।गत मे महिनामा कार्लो एन्सेलोटीको उत्तराधिकारीका रूपमा आएका ४४ वर्षीय अलोन्सोमाथि आइतबार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग पराजित भएपछि दवाब बढेको थियो । ला लिगाको अंक तालिकामा पनि रियल हाल शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि छ । अलोन्सोको कार्यकालमा रियलले खेलेका ३४ खेलमध्ये २४ मा जित निकाले पनि महत्वपूर्ण खेलहरूमा बेहोरेको हार नै उनको पदका लागि घातक सावित भयो ।

यस सिजनमा टोलीले एट्लेटिको मेड्रिडसँग ५–२ को लज्जास्पद हार बेहोर्नुका साथै च्याम्पियन्स लिगमा लिभरपुल र म्यानचेस्टर सिटीसँग पनि पराजय बेहोरेको थियो । स्पेनिस सञ्चार माध्यमहरूका अनुसार क्लबभित्रको आन्तरिक विवादले पनि अलोन्सोको बहिर्गमनलाई तीव्र बनाएको थियो ।

सुपर कपको फाइनलअघि स्टार स्ट्राइकर केलियन एमबाप्पेसँग खेल रणनीतिका विषयमा अलोन्सोको विवाद भएको दावी गरिएको छ भने खेलाडी किन्ने र टोली छनोटका विषयमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि उनको सम्बन्ध चिसिएको बताइएको छ । क्लबले जारी गरेको विज्ञप्तिमा अलोन्सोलाई ‘लेजेन्ड’ को संज्ञा दिँदै उनको समर्पण र व्यावसायिकताका लागि धन्यवाद दिइएको छ ।

नवनियुक्त प्रशिक्षक आर्बेलोआले तत्काल टोलीको जिम्मेवारी सम्हाल्नेछन् भने उनलाई सिजनको बाँकी समयमा टोलीलाई पुनः लयमा फर्काउने र च्याम्पियन्स लिगमा बलियो चुनौती पेश गर्ने मुख्य चुनौती हुनेछ ।