काठमाडौं ।
भैरहवाबाट काठमाडौं उड्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (कल साइन ९ एन–एएमडी) मा एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ। बुधबार जहाजमा सवार ४० वर्षीय सुमन गौतमले इमरजेन्सी ढोका खोल्दा विमान स्टार्ट भएर उड्ने तयारी अवस्थामा नै घटना भएको हो।
पाइलटले तत्काल आपत्ति जनाएपछि जहाज भैरहवामा रोकिएको छ। बुद्ध एयरका अनुसार घटनापछि यात्रु गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको पूर्ण प्राविधिक परीक्षण अनिवार्य हुन्छ। सोही क्रममा काठमाडौंबाट प्राविधिक टोली भैरहवातर्फ प्रस्थान गरेको छ। परीक्षणपछि जहाज सुरक्षित ठहरिए मात्र पुनः उडान भर्ने छ।
भैरहवा विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिनुभयो, “यात्रुले ढोका खोलेपछि विमानमा ठूलो जोखिम उत्पन्न हुन सक्ने संवेदनशील विषय हो। बुद्ध एयरले घटनाले ६ लाख रुपैयाँ आर्थिक घाटा भएको बताउँदै निवेदन दिएको छ। यात्रुको मानसिक अवस्था, सुरक्षा नियम उल्लङ्घनको कारण, साथै कानूनी कारबाहीको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।” अहिलेसम्म अन्य बुद्ध एयरका जहाजहरूको उडान नियमित रहेको र कुनै प्रभाव नपरेको बताइएको छ।











प्रतिक्रिया