उदयपुर ।
दयपुरको चौदण्डीगढी नगरपालिकामा भएको पहिलो चौमासिक सार्वजनिक कार्यक्रममा सहभागीहरुले पूर्वाधार निर्माणमा जोड दिन माग गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नागरिक सन्तुष्टि जनाउने सूचकहरू सकारात्मक देखिएको नागरिक अभिमत प्रतिवेदनले देखाएको हुँदा नगरको विकास निर्माण को काममा पूर्वाधार निर्माणको महत्वपूर्ण स्थान हुने भएकोले सूचकहरुको आधारमा पूर्वाधार निर्माणको काममा ध्यान दिन माग गरिएको छ ।
सोमबार वडा नम्बर ५ को सुन्दरपुरमा सम्पन्न आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीहरूले खुलेर आफ्ना माग, गुनासो र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेषगरी हडिया–फत्तेपुर सडक स्तरोन्नति, नदी कटान नियन्त्रण, सडक बत्ती जडान तथा ग्रामीण सडक कालोपत्रे गर्नुपर्ने मागहरू प्रमुख रूपमा उठाइएका थिए ।
‘सुशासन, पारदर्शिता र जवाफदेहिता’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा नगरबासीहरूले सेवा प्रवाहप्रति सन्तुष्टि व्यक्त गर्दै बाँकी रहेका पूर्वाधार र विकास निर्माणका कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।
कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिकालाई ‘पूर्वाधार वर्ष’ का रूपमा मनाउने घोषणा अनुरूप नगर क्षेत्रमा धमाधम विकास निर्माणका काम भइरहेको जानकारी दिनुभयो । उहाँले नागरिकका जायज मागहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख मणिकादेवी दुलालले आफ्नै घर त्रियुगा वारि रहेको उल्लेख गर्दै यहाँका समस्याबारे आफू जानकार रहेको बताउनुभयो । उपप्रमुखको जिम्मेवारीले भ्याएसम्म विकास निर्माण र स्थानीय समस्या समाधानमा सक्रिय रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई वडा अध्यक्ष तुलसीराम ढकाल सिताराम राई पर्शुराम राई लगाएतको उपस्थिती रहेको थियो ।
रौतामाई नेटवर्क प्रा. लि.को सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका तर्फबाट भरत खड्काले प्रस्तुति दिनुभएको थियो । रौतामाई नेटवर्कका अन्जनीकुमार अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा सन्तोष रौनियार र तुलसी कोइरालाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिका, बेल्टार, उदयपुरले गरेको हो ।











प्रतिक्रिया