२०६३ यताका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने गगन थापाको प्रस्ताव


काठमाडौं ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भएको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै वि.सं. २०६३ साल यताका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन्।

थापाले प्रस्तुत गरेको प्रस्तावमा सार्वजनिक पदमा रहेका वा नरहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनुपर्ने उल्लेख छ। प्रस्तावअनुसार आयोगलाई पूर्वन्यायाधीश, नेपाली सेनाका पूर्व अधिकारीलगायत सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिन गर्ने अधिकार दिइनेछ।

‘वि.सं. २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिनेछ,’ प्रस्तावमा उल्लेख छ, ‘उक्त आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्व अधिकारीलगायत सबैको सम्पत्ति छानबिन गर्ने अधिकार प्रदान गरिनेछ।’

महामन्त्री थापाले राजनीतिक परिवर्तनपछि बढेको भ्रष्टाचार र अकुत सम्पत्तिप्रति जनआक्रोश बढिरहेको उल्लेख गर्दै सुशासन र पारदर्शिता कायम गर्न यस्तो कठोर कदम आवश्यक भएको बताएका छन्। उनका अनुसार सम्पत्ति छानबिनलाई कुनै व्यक्ति, पद वा संस्थाभन्दा माथि राखेर निष्पक्ष रूपमा अघि बढाउनुपर्छ।

प्रस्तावमाथि बन्दसत्रमा छलफल जारी छ भने यसले महाधिवेशनमा तीव्र बहस सिर्जना गरेको छ।