काठमाडौं।
पब्लिक सूत्रधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा भक्तपुरको सूर्यविनायकस्थित सेवा केन्द्रमा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विधान जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाको आगामी कार्यदिशा र वर्तमान आर्थिक चुनौतीका विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले बनेपामा केन्द्रीय कार्यालय रहेको सहकारीको काठमाडौं र भक्तपुरमा पनि शाखा रहेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी केन्द्रको बनेपामै, काठमाडौँको पुरानो वानेश्वरमा र भक्तपुरको सूर्यविनायकमा गरी तीन जिल्लामा रहेको कार्यालयमा नै फरक फरक दिनमा साधारण सभा सम्पन्न गरेको जानकारी गराए । उनले तीन क्षेत्रमा कार्यक्षेत्र विस्तार गरी संस्थाले सेवा पु¥याइरहेको जानकारी दिए । उनले वर्तमान समयमा घरजग्गा कारोबारमा आएको मन्दी र युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेकाले सहकारी क्षेत्रमा केही चुनौती थपिएको बताए । “सहकारीप्रति फैलाइएका गलत प्रचारका कारण कर्जा असुलीमा केही समस्या देखिएको छ,“ अध्यक्ष जोशीले भने, “तर हामीले आगामी दिनमा सदस्यहरूको हितलाई ध्यानमा राखेर विशेष कार्यक्रमहरू ल्याउँदैछौँ ।“

संस्थाले आगामी योजनाका रूपमा सदस्यहरूको स्वास्थ्य उपचारका लागि स्वदेश तथा विदेशका अस्पतालहरूसँग समन्वय गरी सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ ।
सभामा संस्थाका सचिव निर्मला ताम्रकारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष रामशरण हुमागाईंले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै हुमागाईंले मुलुकमा देखिएको समग्र आर्थिक मन्दीको प्रभाव सहकारीमा पनि परेको र यसलाई सुधार गर्न संस्थाले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक डा. सुदीप हुमागाईंले आन्तरिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान अवस्थामा कर्जा लगानीमा केही कमी आएको देखिए पनि हरहिसाब चुस्त दुरुस्त रहेको पाईएको उल्लेख गरे । उक्त कार्यक्रममा उपाध्यक्ष उमेश प्रसाद श्रेष्ठले सहकारीलाई विश्वास गरि यति लामो समय देखि साथ दिँदै आउनुभएका सेवाग्राही, शुभचिन्तकहरू र कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । उनले सहकारीले “दिगो विकासका लागि हातेमालो गरौँ“ भन्ने संकल्पका साथ आफ्नो २५औँ वर्षगाँठ मनाएको हो भने ।











प्रतिक्रिया