काठमाडौँ।
दक्षिण-पूर्वी एसियाली क्षेत्रमा नसर्ने रोग र मानसिक स्वास्थ्यको बढ्दो चुनौतीलाई सामना गर्न एकीकृत रणनीति र सामूहिक जवाफदेहिताको खाँचो रहेको औंल्याइएको छ। ललितपुरको होटल हिमालयमा आजदेखि सुरु भएको ‘दक्षिण-पूर्वी एसियाली क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले यस्तो बताउनुभएको हो ।
डा. अभिनव वैधको अध्यक्षता तथा नेपाल एन.सि.डि. एलायन्सको आतिथ्यतामा आयोजित उक्त सम्मेलनमा नेपाल लगायत दक्षिण-पूर्वी एसियाली मुलुकका सरकारी प्रतिनिधि, स्वास्थ्य विज्ञ, नागरिक समाजका सदस्य र विश्व स्वास्थ्य संगठनका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ। सम्मेलन विशेष गरी सन् २०२५ मा भएको संयुक्त राष्ट्र संघको उच्च-स्तरीय बैठकका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा ल्याउने र आगामी पाँच वर्षका लागि नयाँ जबाफदेहिता ढाँचा तय गर्ने उद्देश्यले आयोजना गरिएको हो।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा. शर्माले नसर्ने रोगहरू नेपालका लागि प्रमुख स्वास्थ्य चुनौती बनेको स्वीकार गरिन् । उनले भनिन् , “नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको छ। यो केवल स्वास्थ्यको तथ्याङ्क मात्र होइन, यो हाम्रो अर्थतन्त्र र मानव संसाधनमाथिको ठूलो प्रहार हो। त्यसैले, हामीले उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई अनिवार्य रूपमा जोड्नुपर्छ।”
मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई “ओझेलमा परेको महामारी” को संज्ञा दिँदै सरकारले हालै सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले युवा र किशोरकिशोरीहरूका लागि लक्षित क्लिनिक’ को सफलता उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म विस्तार गरिने बताउनुभयो ।
नयाँ जबाफदेहिता ढाँचा (२०२६–२०३०) सार्वजनिक गर्ने यो सम्मेलनको मुख्य आकर्षणको रूपमा ‘बहु-सरोकारवाला जबाफदेहिता ढाँचा २०२६–२०३०’ सार्वजनिक गरिएको छ। यो ढाँचाले आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा हुने प्रगति मापन गर्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने आधार तय गर्नेछ । यस ढाँचाका मुख्य चार स्तम्भहरूमा प्रतिबद्धता, कार्य, अनुगमन र पुनरावलोकन रहेका छन् ।
क्षेत्रीय सहकार्य र नागरिक समाजको भूमिकामा सम्मेलनको पहिलो सत्रमा नेपाल, भारत, बंगलादेश र इन्डोनेसियाका प्रतिनिधिहरूले आ-आफ्नो देशका सफल अनुभवहरू साझा गरेका थिए। सहभागीहरूले नसर्ने रोगको भार कम गर्न चिनीजन्य पेय पदार्थमा कर वृद्धि, सुर्तिजन्य पदार्थको कडा नियन्त्रण र स्वच्छ हावा जस्ता विषयमा क्षेत्रीय ऐक्यबद्धता जनाएका छन् । यसका साथै स्थानीय तह र विश्वबिधालय स्तरमै स्वास्स्थ्य बीमाका बिषयमा सरकार लगायत सरोकारवाला निकाय सकृय भएर लाग्नुपर्नेमा जोड दिएका छ्न् ।
नागरिक समाजको भूमिकाबारे चर्चा गर्दै वक्ताहरूले सरकारले गर्ने नीतिगत निर्णयहरूमा बिरामी र तल्लो तहका समुदायको आवाज सुन्नुपर्नेमा जोड दिएका छन्। “हाम्रो लागि, हामी बिना केही पनि हुँदैन” भन्ने मूल नाराका साथ बिरामीहरूको प्रत्यक्ष सहभागितालाई सुनिश्चित गर्न सम्मेलनले जोड दिएको छ ।
स्वास्थ्य मन्त्री डा. शर्माले आफ्नो कार्यकालमा स्वास्थ्य सेवामा पारदर्शिता र सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै स्वास्थ्य बिमा कार्यक्रमलाई नसर्ने रोगहरूको उपचारसँग प्रभावकारी रूपमा जोड्ने बताउनुभयो । यो सम्मेलन समापनमा ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै आगामी क्षेत्रीय कार्ययोजनाको मार्गचित्र प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
यस्तै सम्मेलनमा नेपाल एन.सि.डि. एलायन्सका अध्यक्ष डा. प्रकाश राज रेग्मी, दक्षिण पूर्वी एसिया क्षेत्रीय एन.सि.डि. एलायन्सका अध्यक्ष अभिनव बैद्य , काठमाडौ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले नसर्ने रोग र मानसीक स्वास्थ्यको दक्षिण एशियाको समस्याका बारेमा प्रकाश पारेका थिए ।
यस सम्मेलनले दक्षिण-पूर्वी एसियाली क्षेत्रमा नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा नयाँ उत्साह र प्रतिबद्धता थपेको विश्वास गरिएको छ।












प्रतिक्रिया