लन्डन, (एजेन्सी)
इजिप्ट मोरोक्कोमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको छ ।
गत संस्करणको विजेता टोली आइभोरी कोस्टलाई ३–२ ले हराउँदै इजिप्ट अन्तिम चारमा पुगेको हो । टोलीलाई जित दिलाउन स्टार खेलाडी मोहम्मद सलाह, ओमार मार्मुश र रामी राबियाले गोल गरेका थिए । ओमारले दुई गोल हुन असिस्ट गरेका थिए भने सालाहले राबियाको गोलका लागि असिस्ट गरेका थिए ।
यो जितले सालाहको अफ्रिकी कप जित्ने आस जीवित रहेको छ । उनले लिभरपुलका लागि उपाधि दिलाउन सफल भएपनि राष्ट्रिय टोलीलाई उपाधि दिलाउन सकेका छैनन् । यसपटक उनको टोलीले जित्ने संभावना बलियो रहेको उनी बताउँछन् । यस जारी प्रतियोगितामा उनले चार गोल गरिसकेका छन् ।
इजिप्टले फाइनलमा पुग्न सेनेगलसँग बुधबार खेल्नेछ । सेनेगल त्यही टोली हो जसले इजिप्टलाई उपाधिबाट वंचित गरेको थियो । सन् २०२१ को फाइनलमा सेनेगलले इजिप्टलाई पेनाल्टी शूटआउटमा हराएर उपाधि जितेको थियो । यसअघि सन् २०१७ मा पनि इजिप्ट र सालाह उपविजेतामै सीमित भएका थिए । त्यतिबेला क्यामरूनसँग पराजित भएको थियो ।
यस्तै, नाइजेरिया पनि प्रतियोगिताको अन्तिम चारमा पुगेको छ , नाइजेरियाले अल्जेरियालाई २–० ले हराएको थियो । टोलीका लागि भिक्टर ओसिमहेन र एकोर एडम्सले गोल गरेका थिए । गत संस्करणमा आईभोरी कोस्टसँग फाइनल हारेको नाइजेरियाले आयोजक मोरोक्कोसँग खेल्नेछ ।











प्रतिक्रिया