काठमाडौं।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण बन्दै गएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।
सुरक्षाकै कारण राजनीतिक दलहरूले जनताको बीचमा जान नसकिने वातावरण नरहेको जनाउँदै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो– ‘आयोगले एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाको बन्दोबस्त मिलाइएको छ ।’
निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मत माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता भट्टराईको भनाइ रहेको छ । उहाँले एकीकृत सुरक्षा योजनाअनुसारका चारै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको जानकारी गराउनुभयो । दुई महिनाअघि स्वीकृत एकीकृत सुरक्षा योजनामा सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरूको वर्गीकरण गरी मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन विषय समेटिएको छ ।
‘राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरूले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ’, उहाँले भन्नुभयो– ‘सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरू जान नसक्ने अवस्था छैन, सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको छ सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।’
यसैबीच आयोगले हालै नियुक्ति गरिएका मुख्य निर्वाचन अधिकृत र अधिकृतलाई आज सोमबार र भोलि मंगलवार विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कुल चार स्थान काठमाडौैं, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारीले कार्यविभाजन गरी खटिइसकेका छन् । तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ । प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी २ माघदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।











प्रतिक्रिया