विशेष महाधिवेशनबाट कांग्रेसमा नेतृत्व परिवर्तनको हुँकार: गगन थापालाई सभापति बनाउन माग

संस्थापनको अनुपस्थितिले झन् गहिरियो अन्तरविरोध

2.82k
Shares

काठमाडौं।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ । देशभरबाट आएका हजारौं महाधिवेशन प्रतिनिधिले मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको निष्कर्ष निकाल्दै अब पार्टीको नेतृत्व युवापुस्ताले लिनुपर्ने आवाज सशक्त रूपमा उठाएका छन् ।
महाधिवेशनमा सहभागी झण्डै ५० प्रतिशत प्रतिनिधिले वर्तमान परिस्थितिमा पार्टी अध्यक्षको जिम्मेवारी महामन्त्री गगन थापाले लिनुपर्ने माग गरेका छन् । प्रतिनिधिहरूले संस्थापन पक्ष विशेष महाधिवेशनमा सहभागी नहुनुलाई गम्भीर विषयका रूपमा लिँदै यसप्रति खुलेर चिन्ता व्यक्त गरेका थिए । उनीहरूले पार्टीभित्र व्यापक परिवर्तन आवश्यक भएको निष्कर्ष निकाल्दै यही महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने घोषणासमेत गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजना भएको विशेष महाधिवेशनमा संस्थापन पक्षका पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइरालालगायत शीर्ष नेताहरू सहभागी भएनन् । संस्थापन पक्षको अनुपस्थितिपछि मञ्चबाट सम्बोधन गर्ने अधिकांश नेताले पार्टी सभापतिदेखि वरिष्ठ नेतासम्मलाई महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका थिए । यद्यपि, संस्थापन पक्षका केही नेता तथा कार्यकर्ताहरू भने महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सम्बोधनसमेत गरेका थिए । यसले कांग्रेसभित्र दुई स्पष्ट धार देखिएको संकेत गरेको छ।

दुई समूहमा विभाजित देखिएको नेपाली कांग्रेसलाई अब एकताबद्ध बनाएर अघि बढाउने कि पुनः विभाजनको जोखिम मोलेर जाने भन्ने दबाब दुवै पक्षका नेतामाथि परेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्ष भने छुट्टै छलफलमा जुटेको देखिएको थियो ।

महाधिवेशनमा सहभागी नेता–कार्यकर्ताको साझा निष्कर्ष कांग्रेसमा परिवर्तन अनिवार्य भइसकेको भन्ने देखिन्छ । देशभरबाट आएका प्रतिनिधिहरूमा नयाँ ऊर्जा र उत्साह देखिएको थियो । प्रतिनिधिहरूले नेतृत्व युवा पुस्तालाई सुम्पिए आगामी संसदीय निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउन सक्ने दाबीसमेत गरेका छन्।
मोबाइलको उज्यालोमा भाषण

समयमै उद्घाटन सत्र सुरु हुन नसक्नु र बोल्ने नेताहरूको संख्या धेरै हुनुका कारण उद्घाटन सत्र बेलुकी ढिलोसम्म चलेको थियो । उद्घाटन सत्रमा सहभागी प्रतिनिधिहरू राति अबेरसम्म मोबाइलको लाइट बालेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सम्बोधन सुन्दै बसेका थिए ।

संस्थापन पक्षप्रति कटाक्ष गर्दै बोल्ने अधिकांश नेताहरूले पार्टी अब विभाजनतर्फ होइन, एकताका साथ अघि बढ्ने दाबी गरे । उद्घाटन समारोहमै संस्थापन पक्षका नेताहरूलाई सहभागी भई पार्टी सभापतिलाई समेत महाधिवेशनमा उपस्थित गराउन आग्रह गरिएको थियो ।

२९१० प्रतिनिधिको हस्ताक्षर

महाधिवेशनमा आफ्नो पक्षमा ६० प्रतिशत प्रतिनिधि पु¥याउने लक्ष्य लिएको थापा–शर्मा पक्षले प्रारम्भिक सफलता हासिल गरेको दाबी गरेको छ । राति अबेरसम्म विशेष महाधिवेशनको पक्षमा २ हजार ९ सय १० जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी उद्घाटन सत्रकै क्रममा उक्त संख्यामा हस्ताक्षर भएको कांग्रेस सचिवालय सदस्य युवराज पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाली कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने दिशामा अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा विश्वास जगाउन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘३४ वर्षमा ३० वटा सरकार बने । प्रधानमन्त्री बन्नेहरू सन्तुष्ट भए होलान्, तर नागरिक सन्तुष्ट भएनन् ।’ उहाँले जनताको असन्तुष्टि सम्बोधन गर्न आवश्यकताअनुसार नीति परिवर्तन गर्दै छलफल र संकल्पको राजनीति गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

महामन्त्री गगन थापाले कांग्रेसमा अब कोही मालिक र कोही दास नहुने उद्घोष गर्नुभयो । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म सबैको हैसियत बराबर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पार्टीका सदस्यहरूले आफ्नो हकको दाबी गर्नुभयो । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको पार्टी सञ्चालनको तरिका भत्कियो । भोलि जोसुकै आए पनि पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन ।’

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई संगठित र सुदृढ बनाउन विशेष महाधिवेशन आवश्यक परेको बताउनुभयो । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक पार्टी स्वभावतः गतिशील हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई एकै ठाउँमा जमेको पोखरीसँग तुलना गर्दै भन्नुभयो– ‘लोकतान्त्रिक पार्टी पोखरी होइन, बग्ने नदी हो । बग्दै जाँदा विकृति, कमजोरी र गल्तीहरू सच्याउँदै पार्टी स्वच्छ, पवित्र, सुदृढ र संगठित बन्छ ।’
नेपाली कांग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने स्पष्ट धारणा राख्नुभएको छ । उद्घाटन सत्रमा बोल्दै उहाँले नियमित नभए पनि निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने आफ्नो मत रहेको बताउनुभयो । उहाँले कांग्रेस कुनै एक व्यक्तिको आदेशले होइन, आम कार्यकर्ताले बनाएको पार्टी भएको उल्लेख गर्दै नेतृत्व परिवर्तन लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो ।

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिलाई सम्मान गर्न आफू कार्यक्रममा सहभागी भएको बताउनुभयो । संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यको तर्फबाट बोल्दै उहाँले पार्टी नेतृत्वका घर–घरमा जाँदा पनि कुनै निकास ननिस्किएको अनुभव सुनाउनुभयो । ‘हामी निराश भएर फर्किन बाध्य भयौँ, त्यसैले बहुमत प्रतिनिधिको सम्मान गर्न यहाँ आएका हौं’ –उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशन विधानले निर्दिष्ट गरेअनुसार अघि बढिरहेको स्पष्ट पार्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विधानअनुसार दर्ता भएको विशेष महाधिवेशनलाई कार्यसम्पादन समितिले निर्देशित गर्न नसक्ने बताउनुभयो । उहाँले तीन महिनाभित्र नियमित महाधिवेशन भएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने उल्लेख गर्दै नेतृत्वले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण यो अवस्था आएको बताउनुभयो । बहुदलीय व्यवस्थामा गणित प्रधान हुने भएकाले विश्वास गुमाउने नेताले नैतिकता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा गम्भीर परिवर्तन आवश्यक भइसकेको बताउनुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले विगत ३४ वर्षको अभ्यासले पद बाँडेर देश अघि बढ्न नसकिने प्रमाणित भइसकेको बताउनुभयो । ‘ठूला पार्टी मिलेर सरकार बनायौं, तर आफ्नै नेताहरू जोगाउन हेलिकोप्टर चढाएर सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था आयो’ –उहाँले भन्नुभयो । अहिलेको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै उहाँले आगामी निर्वाचनमा एकढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता विनोद चौधरीले विशेष महाधिवेशनले पार्टीभित्रको काखा–पाखाको राजनीति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले विषम परिस्थितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा पार्टीको जिम्मेवारी आएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनमार्फत पार्टीले नीतिगत सुधार गरेर जानुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले आफ्नै नीति छाडेर कम्युनिस्टको नीति बोकेको आरोप लगाउँदै भन्नुभयो– ‘हामी कमजोर हुँदै गएका छौं । हाम्रो पार्टीभित्र कम्युनिस्टको गन्ध छ । कम्युनिस्ट नभई हिँड्नै नसक्ने अवस्था आएको छ ।’

यसैबीच, चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला संग्र्रौला, चीनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत नेताहरू कार्यक्रमस्थलमा उपस्थित भएका छन् ।

विशेष महाधिवेशनले नेपाली कांग्रेसको भावी दिशा, नेतृत्व र संगठनात्मक संरचनामा निर्णायक मोड ल्याउने अपेक्षा गरिएको छ।

महाधिवेशनमा सहभागी देउवा र शेखरनिकट नेताहरू :
गोपालमान श्रेष्ठ, तारामान गुरुङ, डिला संग्रौला, चीनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसी, पूर्वसभामुख तारानाथ रानाभाट, चन्द्र भण्डारी, सुनील शर्मा, केदार कार्की

कांग्रेसमा अब कोही मालिक र कोही दास हुँदैनन् । पार्टी सभापतिदेखि साधारण सदस्यसम्म सबैको हैसियत बराबर हुन्छ । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको पार्टी सञ्चालनको तरिका भत्कियो । भोलि जोसुकै आए पनि पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन ।
–महामन्त्री गगन थापा

दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा विश्वास जगाउन सकेनन् । ३४ वर्षमा ३० वटा सरकार बने । प्रधानमन्त्री बन्नेहरू सन्तुष्ट भए होलान्, तर नागरिक सन्तुष्ट भएनन् ।
–महामन्त्री विश्वप्रकाश शर्मा