‘ट्राफिक सप्ताह २०८२’ शुभारम्भ, दुर्घटना न्यूनीकरणमा बहुपक्षीय सहकार्यमा जोड


काठमाडौं ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको छवि जनमुखी, जिम्मेवार र प्रभावकारी बनाउने अभियानलाई थप सशक्त बनाउँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्षको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ सिर्जनशील ढंगले शुभारम्भ गरेको छ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा सुरक्षा निकाय, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला संघसंस्था, विद्यार्थी, ट्राफिक स्वयंसेवक लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
बसन्तपुरस्थित कुमारीघरबाट सुरु भएको प्रभातफेरि र्‍याली न्यूरोड गेट, वीर अस्पताल, रणोद्वीप, पुरानो बसपार्क, भद्रकाली र सिंहदरबार हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर मूल समारोहमा परिणत भएको थियो।

मूल समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज को पुनर्निर्मित भवनको संयुक्त रूपमा उद्घाटन गरे। भवन पुनर्निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरू तथा संस्थाहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्की र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकूका निर्देशक डा. युवानिधि बसौलाबीच ट्राफिक प्रहरी कर्मचारीलाई इन्फ्लुएञ्जा खोप प्रदान गर्ने सम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो। साथै प्रहरी महानिरीक्षक कार्की र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (NAIMA) का बोर्ड सदस्य सौरभ ज्योतिबीच ट्राफिक प्रहरी कर्मचारीका लागि अनिवार्य अनुशिक्षण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक सचेतना अभिवृद्धि र सडक दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले सडक दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरी मात्र नभई सडकको गुणस्तर, सवारी साधनको अवस्था, चालकको आचरण तथा आम नागरिकको चेतनासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष दीपक केसी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षा सम्बन्धी धारणा र शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक वृत्तचित्र प्रदर्शन, ट्राफिक प्रहरी तथा बाल कलाकारद्वारा नृत्य प्रस्तुतिसमेत गरिएको थियो।

काठमाडौं उपत्यकाका सडकलाई अझ सुरक्षित, शान्त र व्यवस्थित बनाउने उद्देश्यसहित ट्राफिक प्रहरी प्रमुख अधिकारीले थालेका नवीन र सिर्जनशील पहलहरूलाई विभिन्न क्षेत्रबाट सकारात्मक रूपमा हेरिएको र व्यापक प्रशंसा प्राप्त भइरहेको छ।