कम्युनिस्ट एजेन्डाबाट कांग्रेसलाई मुक्त गर्नुपर्छ : शुक्रराज शर्मा


काठमाडौँ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा २०४७ सालको संविधान, राजतन्त्र, धर्मनिरपेक्षता र पार्टीको वैचारिक दिशाबारे पुनर्विचार गर्नुपर्ने आवाज खुलेर उठेको छ। आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीलाई “कम्युनिस्ट मुक्त” बनाउँदै संवैधानिक राजतन्त्रसहितका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन्।

शुभकामना मन्तव्यका क्रममा शर्माले नेपाली कांग्रेसले आफ्नो मौलिक वैचारिक धरातल गुमाउँदै गएको आरोप लगाए।
‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन सक्दैन। हामी कहिल्यै लोकतन्त्रका लागि लडेका होइनौँ,’ उनले भने, ‘आज म अनुरोध गर्न चाहन्छु—कांग्रेसलाई पहिलेको जस्तो बनाऔँ। वीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको कांग्रेस पुनः निर्माण गरौँ।’

उनले पार्टीमा तीन तहमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै नीतिगत सुधार, कार्यगत सुधार र नेतृत्वको सुधार अनिवार्य भएको धारणा राखे।

शर्माले कांग्रेसको वर्तमान नीति कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको आरोप लगाउँदै लोकतन्त्र र समाजवादजस्ता शब्दहरू पनि पुनर्विचारको घेरामा ल्याउनुपर्ने बताए।
‘प्रजातन्त्रको सट्टा लोकतन्त्र नराखौँ। समाजवाद र संवैधानिक राजतन्त्रका विषयमा पनि खुला छलफल गरौँ,’ उनले भने, ‘धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रतामा आधारित कांग्रेसको अवधारणाबारे पनि सोच्नुपर्छ।’

कांग्रेसले आफ्नै ऐतिहासिक नीति त्यागेर कम्युनिस्ट एजेन्डा आत्मसात् गरेको भन्दै उनले असन्तोष व्यक्त गरे।
‘हामी कमजोर भएका छौँ। हरेक ठाउँमा कम्युनिस्टको गन्ध आएको छ,’ शर्माले भने, ‘अब कम्युनिस्ट मुक्त कांग्रेस बनाउनैपर्छ। २०६१ सालसम्मको जस्तो स्पष्ट दिशानिर्देशसहितको कांग्रेस आवश्यक छ।’

विशेष महाधिवेशनमा शर्माको अभिव्यक्तिले कांग्रेसभित्र वैचारिक बहस थप चर्किने संकेत देखिएको छ। पार्टीको भावी दिशा, मूल विचारधारा र संगठनात्मक स्वरूपबारे गम्भीर मन्थन हुने अपेक्षा गरिएको छ।