काठमाडौं
शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले आफ्नो महापरिनिर्वाण (देह त्याग) को घोषणा गर्नुभएको दिनको स्मृतिमा मनाइने आयुसंस्कार परित्याग दिवस यस वर्ष पनि नेपालमा देशव्यापी रूपमा मनाइने भएको छ। माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि)का दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूले यो दिवस श्रद्धा र साधनासहित मनाउँदै आएका छन्।
बुद्धले माघ शुक्लपूर्णिमाका दिन त्यसको ठीक तीन महिनापछि अर्थात बैशाख शुक्लपूर्णिमामा आफूले आयुसंस्कार परित्याग गर्ने घोषणा गर्नुभएको थियो। ८० वर्षको उमेरमा उहाँले मानव शरीरको नश्वरता, समयको महत्व र आत्मज्ञानको अनन्त सत्यबारे आफ्ना शिष्यहरूलाई उपदेश दिँदै महापरिनिर्वाणको मार्ग प्रशस्त गर्नुभएको थियो।

यस वर्ष माघ १८ गते पर्ने आयुसंस्कार परित्याग दिवसलाई भव्य रूपमा मनाउने तयारीस्वरूप आइतबार श्रीखण्ड तरुमूल महाविहारले बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा महाविहारका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गर्यो।
छलफलमा सहभागीहरूले बुद्धको जन्म, सम्बोधिलाभ र महापरिनिर्वाणको त्रिसंयोग परेको बैशाख पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा व्यापक रूपमा मनाइँदै आए पनि आयुसंस्कार परित्याग दिवस भने अपेक्षित रूपमा चर्चामा नआएको भन्दै यसलाई पनि समान महत्वका साथ मनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा भिक्षु कौण्डन्य महास्थवीरले शीलप्रदान तथा प्रवचन गर्दै भन्नुभयो -‘भगवान् बुद्धले आयुसंस्कार परित्यागको घोषणा गर्नु केवल देह त्यागको सूचना मात्र होइन, यो मानव जीवनको नश्वरता स्वीकार गर्दै आत्मज्ञान र करुणाको मार्गमा दृढ भएर अघि बढ्न दिइएको महान् उपदेश हो। यो दिवसले हामीलाई मृत्युबाट डराउन होइन, जीवनलाई सचेत, सदाचारयुक्त र शान्तिमय बनाउँदै बिताउन प्रेरित गर्दछ।’ सहभागी बौद्ध विज्ञहरूले आयुसंस्कार परित्याग दिवसले जीवन र मृत्युको सत्य स्वीकार गर्न, आत्मज्ञानको यात्रामा समर्पित हुन तथा शान्तिको मार्गतर्फ अग्रसर हुन प्रेरणा दिने बताए।

कार्यक्रममा श्रीखण्ड तरुमूल महाविहार संरक्षण तथा सञ्चालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले गत वर्षझैँ यस वर्ष पनि माघ १८ गते बुद्धको मूर्तिलाई विशेष रूपमा सजाइएको रथमा विराजमान गराई काठमाडौंको भित्री शहरमा शोभायात्रा निकालिने, दिनभर धर्मदेशना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने र साँझ दीप प्रज्वलन गरिने जानकारी दिए। उनले यस दिवसलाई भव्य बनाउन सबै सरोकारवालालाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरे।
कार्यक्रममा भन्ते तथा गुरुजनलाई दान प्रदान गर्नुको साथै सामूहिक भोजनको व्यवस्था गरिएको थियो।











प्रतिक्रिया