काठमाडौँ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ का अवसरमा नेपाली सेनाले देशभर विविध कार्यक्रमहरूको आयोजना गरेको छ।
आज जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रति सलामी अर्पण गरिएको छ। समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलसहित पूर्व प्रधान सेनापति, रथीवृन्द, अधिकृत तथा अन्य दर्जाले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका थिए।

यसै अवसरमा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका प्रथम पाँच पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज र पुरानो गोरख) का झण्डा तथा दीपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ र नुवाकोट हुँदै हनुमानढोका पुगेको थियो। उक्त पदयात्रा आज बिहान पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा समापन गरिएको हो।

समारोहपश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गरिएको थियो भने लघु नाटक प्रस्तुति तथा इतिहासविदद्वारा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानबारे प्रवचन गरिएको थियो। सो अवसरमा विभिन्न प्रतियोगिताका विजेता, निर्णायक तथा प्रवाचकहरूलाई प्रधान सेनापतिले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा इतिहासको जगेर्ना, पुर्खाको योगदानको संरक्षण तथा पुरातात्त्विक महत्वका संरचनाको संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा, धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म साँघुरीगढी पदयात्रा, उदयपुरगढी–चौदण्डीगढी पदयात्रा, इलामको नागरीगढीदेखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा तथा रामेछापको तिल्केस्थान गढी पदयात्रा लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर तथा विदेशस्थित नेपाली सेनाका युनिटहरूमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।













प्रतिक्रिया