कांग्रेसको दोस्रो विशेष महाधिवेशन : भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिको चहलपहल

प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी


काठमाडौँ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आइतबार बिहानदेखि नै देशका विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा जम्मा हुन थालेका छन्। महाधिवेशनस्थलमा प्रतिनिधिहरूको उल्लेख्य चहलपहल देखिएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ। दर्ता स्टलहरूमा लाइन लागेर नाम दर्ता गराउनेको भीड देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको यस विशेष महाधिवेशनमा करिब ६० प्रतिशत प्रतिनिधि सहभागी हुने आयोजक पक्षको दाबी छ। पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भएपछि विशेष महाधिवेशन आह्वान गरिएको जनाइएको छ।

महाधिवेशनमा सहभागी हुन प्रतिव्यक्ति एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो १ बजे हुने कार्यक्रम छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका छ स्थानबाट र्‍याली तथा जुलुस निकाल्दै प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भइरहेका छन्।

यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने स्पष्ट गरेको छ। संस्थापन पक्षले नियमित १५ औँ महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशन आवश्यक नभएको तर्क गरेको छ।

यस विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा परिवर्तन, नीति पुनरावलोकन तथा संगठनात्मक संरचनामा सुधारका विषय मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ। भृकुटीमण्डपमा देखिएको उत्साह र चहलपहलले महाधिवेशनको वातावरण तातिएको छ।