काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ।
पार्टी प्रवक्ता मनिष झाले उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि समानुपातिक उम्मेदवारको सूची परिमार्जन गरी आयोगमा बुझाइएको जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समयमै सूची अद्यावधिक गरी दर्ता गराइएको हो।
रास्वपाले समानुपातिक सूची तयार गर्दा विभिन्न पृष्ठभूमि, क्षेत्र, लिङ्ग तथा समुदायको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको जनाएको छ। पार्टीका अनुसार सामाजिक विविधता र समावेशितालाई प्रतिबिम्बित गर्ने गरी उम्मेदवार छनोट गरिएको हो।
निर्वाचन आयोगले प्राप्त भएका समानुपातिक सूचीहरूको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगको कार्यतालिकाअनुसार दलहरूले सूची परिमार्जन र दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेका छन्।
आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट, सूची अद्यावधिक तथा आन्तरिक तयारीलाई अन्तिम चरणमा पुर्याउने तयारीमा जुटिरहेका छन्।











प्रतिक्रिया