कांग्रेस विशेष महाधिवेशन अघि काठमाडौंमा र्‍याली


काठमाडौं ।

काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रमअघि विभिन्न स्थानबाट र्‍याली निकालिएको छ। शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायत ठाउँबाट सुरु भएका र्‍यालीहरू भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन्।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तनको माग गरेका छन्। कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायतको सहभागिता रहेको छ।

कांग्रेसले महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानबाट र्‍याली आयोजना गरेको जनाएको छ।