काठमाडौं ।
इरानमा जारी सरकारविरोधी प्रदर्शन तीव्र बन्दै जाँदा सुरक्षा निकायले कडा चेतावनी जारी गरेका छन् । प्रदर्शनका क्रममा घाइतेहरूको संख्या बढ्दै गएपछि तेहरानसहित विभिन्न शहरका अस्पतालहरू गम्भीर दबाबमा परेका छन् । बीबीसीसँग कुरा गरेका दुई अस्पतालका स्वास्थ्यकर्मीका अनुसार तेहरानको प्रमुख आँखा अस्पताल फराबी ‘संकटको अवस्थामा’ पुगेको छ । एक चिकित्सकका अनुसार राजधानी तेहरानमै मात्र कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
अर्को अस्पतालका स्वास्थ्यकर्मीले अत्यधिक घाइतेका कारण उपचारका लागि पर्याप्त शल्यचिकित्सकसमेत नभएको बताएका छन् । देशका दर्जनौँ शहरमा फैलिएको विरोध प्रदर्शनबीच बिहीबार साँझदेखि इरानभर इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ । यसले घटनाको यथार्थ जानकारी सङ्कलन गर्न कठिन बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, स्टारलिङ्क स्याटेलाइट इन्टरनेटमार्फत एक इरानी डाक्टरले बीबीसीलाई सम्पर्क गर्दै आपतकालीन सेवामाथि असह्य दबाब परेको बताएका छन् ।
अत्यावश्यकबाहेकका शल्यक्रिया स्थगित गरिएको र थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ । दक्षिणपश्चिमी शहर शिराजको एक अस्पतालबाट प्राप्त भिडियो तथा अडियो सन्देशमा पनि ठूलो संख्यामा घाइते ल्याइरहेको र धेरैको टाउको तथा आँखामा गोली लागेको दाबी गरिएको छ । मानव अधिकार संस्थाहरूका फरक–फरक तथ्यांक अनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा ५० भन्दा बढी प्रदर्शनकारी र १५ सुरक्षाकर्मी मारिएका छन् ।
२ हजार ३ सयभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । नर्वेस्थित ‘इरान मानव अधिकार’ संस्थाले नौ बालबालिकासहित कम्तीमा ५१ प्रदर्शनकारी मारिएको जनाएको छ भने बीबीसी फारसीले २६ जनाको मृत्यु पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बढेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण विरोधको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।
फ्रान्स, बेलायत र जर्मनीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इरानी अधिकारीहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला सुनिश्चित गर्न आह्वान गरेका छन् । यसैबीच, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले टेलिभिजन सम्बोधनमार्फत कडा अडान दोहोर्याउँदै ‘विनाशकारी तत्वहरूसँग कठोर रूपमा व्यवहार गरिने’ चेतावनी दिएका छन् । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पनि प्रदर्शनकारीहरूलाई ‘सशस्त्र दंगाकारी’ भन्दै निर्णायक कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।
अर्कोतर्फ, अमेरिकाले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘ठूलो समस्या’मा रहेको टिप्पणी गर्दै हिंसा बढे कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत ‘इरानी जनताको समर्थन’ व्यक्त गरेका छन् । तर, इरानी राजनीतिक कार्यकर्ता तागी रहमानीले विदेशी समर्थनप्रति शंका व्यक्त गर्दै बाह्य हस्तक्षेपले आन्दोलनको विश्वसनीयता कमजोर पार्न सक्ने बताएका छन् । विश्लेषकहरूका अनुसार हालका प्रदर्शनहरू पहिलेभन्दा फराकिला र तीव्र भए पनि संगठित नेतृत्वको अभावले यसको भविष्य अनिश्चित देखिएको छ ।











प्रतिक्रिया