पूर्वराष्ट्रपति भण्डारीद्वारा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा शुभकामना


काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन्। उनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपालको निर्माण इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन्।

भण्डारीले सन्देशमा जनसल्लाह र सुझाव लिएर एकीकरणलाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र पुर्खाहरूको त्यागले नै नेपालको स्वतन्त्र अस्तित्व जोगाएको बताइन्। उनले वर्तमानको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपाल पुर्खाहरूको योगदान बिना सम्भव नहुने भन्दै कृतज्ञता व्यक्त गर्नुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित परराष्ट्र नीतिका लागि अझै सान्दर्भिक रहेको बताइन्। उनले राष्ट्रिय एकता दिवसले देशभक्ति भावना सबल बनाई सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैमा राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।