रामेछाप ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई नेपालको संविधानले नचिन्ने दाबी गर्नुभएको छ । शनिबार रामेछापको सदरमुकाम मन्थली मन्थली नगरपालिकाले आयोजना गरेको कृषि तथा लघु उद्यम प्रदर्शनी मेला २०८२ लाई संम्बोधन गदैँ मन्त्री पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र युवाहरूको आन्दोलनप्रति लक्षित गर्दै मन्त्री पौडेलले ’जेन–जी’ आन्दोलनमा स्वार्थ समूहको घुसपैठ भएको बताउनुभयो । युवाहरूका माग जायज भए तापनि आन्दोलनलाई अराजक बनाउन घुसपैठ भएको बताउनु भयो ।
“नवयुवाहरूको माग सही छ, तर आन्दोलनभित्र घुसपैठ भएको छ । देशका महत्त्वपूर्ण संरचना जलाउने र नष्ट गर्नेहरू नेपाली जनता हुन सक्दैनन्, ती अपराधी हुन्,“ मन्त्री पौडेलले भन्नुभयो ।
कार्यक्रममा उहाँले देशको राजनीति अहिले तरल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सिंहदरबार, अदालत र प्रहरी चौकी जस्ता राज्यका संवेदनशील निकायमा आगजनी गर्ने नेपाली हुन नसक्ने बताउनु भयो । राज्यका संरचना जलाउने कार्यमा संलग्नहरूलाई नेपाली जनताले बेलैमा चिन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदर्शनी मेलामा बोल्दै मन्त्री पौडेलले राजनीतिक अस्थिरताका बीच पनि कृषि र लघु उद्यममार्फत देशको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक र उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।











प्रतिक्रिया