सडकविहीन साईपाल : डोको र स्टेचरमै बिरामी

1.32k
Shares

बझाङ ।

सुदूरपश्चिम प्रदेशको अति दुर्गम साईपाल गाउँपालिका अझै पनि नेपालकै एक मात्र सडक नपुगेको गाउँपालिकाका रूपमा रहेको छ। स्थानीय तह, प्रदेश र संघीय सरकार स्थापना भएको करिब १० वर्ष पुग्न लाग्दा पनि साईपालमा सडक निर्माणको ठोस पहल नहुनु विडम्बनापूर्ण विषय बनेको छ। साईपालका बासिन्दाले हरेक निर्वाचनका बेला मात्र सडकको चर्चा सुन्ने गरे पनि व्यवहारमा कुनै परिवर्तन नआएको गुनासो गर्दै आएका छन्।

भौगोलिक रूपमा विकट साईपाल गाउँपालिका बझाङ जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्रमा पर्छ। यहाँ सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि स्वास्थ्य, शिक्षा र आपतकालीन सेवामा गम्भीर समस्या हुँदै आएको छ। बिरामी, गर्भवती महिला र वृद्धवृद्धालाई उपचारका लागि घण्टौँसम्म डोको, स्टेचर वा बोकेर हिँड्नुपर्ने बाध्यता साईपालको नियमित समस्या बनेको छ। यसैबीच केही दिनअघि साईपाल गाउँपालिका वडा नम्बर १बर्ष ३२/३३ की गीता बाेहरा लडेर घाइते भएपछि साईपालको पीडा फेरि एकपटक सार्वजनिक भएको छ।

उपचारका लागि सडक वा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीयवासीले उनलाई जोखिमपूर्ण पहाडी बाटो हुँदै बोकेर लैजानुपरेको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साईपालको वास्तविक अवस्था देशभर चर्चा भएको छ। भिडियोमा स्थानीयवासीको विवशता, दुर्गम भूगोल र आधारभूत पूर्वाधारको अभाव स्पष्ट देखिन्छ। सामान्य अवस्थामा केही मिनेटमै अस्पताल पुर्‍याउन सकिने बिरामीलाई साईपालमा भने घण्टौँ लगाएर बोक्नुपर्दा ज्यानसमेत जोखिममा पर्ने गरेको स्थानीय बताउँछन्। यस्तो अवस्था बारम्बार दोहोरिँदा पनि सम्बन्धित निकायले गम्भीर चासो नदेखाएको आरोप स्थानीयको छ।

साईपालबासीका अनुसार सडक नहुँदा खाद्यान्न ढुवानी महँगो भएको छ भने विकास निर्माणका कामसमेत प्रभावकारी रूपमा अगाडि बढ्न सकेका छैनन्। “हामीलाई चुनावी भाषणमा मात्र विकास देखाइन्छ, व्यवहारमा सधैँ उपेक्षा सहनुपरेको छ,” एक स्थानीयले बताए। स्थानीयवासीले संघ, प्रदेश र स्थानीय सरकारसँग अब आश्वासन होइन, स्थायी र भरपर्दो सडक पहुँचको माग गरेका छन्। गीता बाेहराको घटनाले साईपालको वास्तविक अवस्था उजागर गरेको भन्दै अब पनि राज्य मौन बसिरहे साईपालबासीको पीडा अझै बढ्दै जाने उनीहरूको भनाइ छ।

साइपालबासी पीडा समाधान भए संगै समृद्ध बझाङ पनि हुने निश्चित छ । बझाङ सदरमुख काम चैनपुर देखि छिमेकी राष्ट्र (उत्तरी नाका ) चीनकाे सिमाक्षेत्र ताक्लाकाेट काे दुरी १सय १७ किलोमिटर मात्र छ । सरकारले चाहे देशैभरिकाे छाेटाे नाकालाई छिटो छरितो निर्माण गरे साइपालबासीका सपना संगै समृद्धि बझाङ हुन्छ ।

यसतर्फ राज्यकाे ध्यान छिटो जावस् । फाेटाेक्याप्सन:घाँस काट्नेक्रममा भिरबाट लडेर गम्भीर घाईते भए पछि,आफन्तद्धारा जंगलकाेबाटाे स्टेचरमा बाेकेर सदरमुकाम चैनपुर ल्याई उपचार हुन नसक्दा रिफर गरि धनगढीकाे अस्पतालमा टाउकोमा गम्भीर चाेट लागि उपचारार्थ अवस्थामा ३२/३३ बर्षकी गीता बाेहरा ।