गुम्बा गाउँ आधारभूत सुविधाबाट बञ्चित

846
Shares

बाजुरा ।

बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बागाउँ पुस्तौंदेखि आधारभूत विकास सुविधाबाट वञ्चित हुँदै आएको छ । जिल्ला सदरमुकाम मार्तडीदेखि करिब २०० किलो मिटर टाढा रहेको यो दुर्गम बस्तीमा हाल पनि सडक, टेलिफोन र विद्युत् सेवा पुग्न सकेको छैन । झण्डै ६५ घरधुरी रहेको गुम्बाका स्थानीय आजसम्म घोडा–भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न बाध्य छन् ।

२०७६ सालमा पालिकाले घोडेटो बाटो निर्माण गरेपछि गाउँ–पालिकाबीचको आवतजावत केही सहज बने पनि त्यसभन्दा अगाडि ठूलो भिरको कारण गाउँ पुग्नु नै जोखिमपूर्ण थियो । स्थानीयका अनुसार एकीकृत योजना नहुँदा वर्षौंदेखि बाटो निर्माण अन्योलमै छ । गत आर्थिक वर्ष संघीय सरकारले गुम्बासम्म सडक पु¥याउन करिब पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । तर, रकम रोकिएपछि काम अघि बढ्न सकेको छैन ।

वडाध्यक्ष मंगल बुढाका अनुसार स्थानीय फेरि पहिलेजस्तै सडकविहीन अवस्थामै परेका छन् । गुम्बा गाउँमा टेलिफोन र इन्टरनेट सेवाबाट पनि पूर्णतः वञ्चित छ । जिल्लाका अधिकांश ठाउँमा २०६४ देखि सेवा विस्तार हुँदै गए पनि गुम्बाभरि आजसम्म टेलिफोन सुविधा नपुगेको जिकिर गर्दै स्थानीय जसबहादुर भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘न टेलिफोन, न सडक, न बत्ती—हामी अझै झरो र टुकीमा निर्भर छौँ ।’

विच्छ्या खोलाबाट उत्पादन भएको विद्युत् २०७८ मा गाउँमा पुगे पनि गत साउनको बाढीले नहर बगाएपछि आजसम्म पनि विद्युत् सेवा पुनः सुरु भएको छैन । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार गुम्बा अत्यन्तै दुर्गम भएकाले पालिकाले मात्रै सडक निर्माण सम्भव छैन, संघीय बजेट आवश्यक छ । गुम्बा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिए पनि बस्ती अझै आधारभूत सेवा–सुविधाको प्रतीक्षामा छ ।

त्यसै गरी हिमाली गाउँपालिकाको बाममा सडक सञ्जाल नपुग्दा त्यहाँका वासिन्दालाई आवगमनमा असहज भएको वडाअध्यक्ष जोखे भण्डारीले बताउनुभयो । विच्छ्याँबाट बाम करिब दश किलोमिटर दूरी छ । वर्षा मौसममा खोलाबाट भीरबाटो भएर हिँड्नु पर्ने र डारीमामा झुण्डिएर आवतजावत गर्नुपर्ने बाध्यता छ । टेलिफोन टावर नटिप्दा रूखमा चढेर फोन गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै स्थानीय सुरलाल रोकायाले भन्नुभयो– ‘शिक्षा क्षेत्र पनि प्रभावित छ शिक्षा स्वाथ्य सञ्चार र बाटोमा सरकरले विशेष ध्यान दिनुपर्छ ।’