उपराष्ट्रपति यादवद्वारा राष्ट्रिय एकता दिवसमा विभेद अन्त्यको आह्वान


काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकता दिवस २०८२ का अवसरमा सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई आत्मसात् गर्न आग्रह गरेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले जातीय, धार्मिक, वर्गीय र क्षेत्रीय द्वन्द्व अन्त्य गर्दै भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव प्रवर्द्धन गर्न एकता दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, सुशासन र समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) ले राष्ट्रहितलाई प्राथमिकता दिन र युवापुस्तामा देशप्रतिको जिम्मेवारी भावना जागृत गर्न महत्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ ।