–आयोजकद्वारा सबै तयारी पूरा भएको दाबी
–नयाँ नेतृत्व चयन भएमा कांग्रेस फुट्ने निश्चित
–केही नेताहरू पार्टी फुटबाट जोगाउन दौडधुपमा
काठमाडौं ।
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । कांग्रेसको संस्थापन पक्षले भने यसलाई विशेष महाधिवेशन नभएर असन्तुष्टहरूको भेला भएको टिप्पणी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका कांग्रेसका अधिकांश शीर्ष नेताहरू सो महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनीहरूले महाधिवेशनका नाममा पार्टी फुटाउन खोजिएको भन्दै त्यसलाई महाधिवेशन नभएर भेलाको संज्ञा दिएका छन् ।
आयोजक पक्षले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापन लगायतका सबै काम सम्पन्न भएको जनाएको छ । भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन सत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ ।
मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ ।मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ ।काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी आयोजकको छ । महाधिवेशनको उद्घाटन आज दिउँसो हुने जनाइएको छ । कांग्रेसका नेताहरू चन्द्र भण्डारी, सुनील शर्मालगायत पार्टीलाई फुटबाट जोगाउन दौडधुपमा लागिरहेका छन् ।
४७ जिल्ला सभापति उभिए विशेष महाधिवेशनको विपक्षमा
नेपाली कांग्रेसका ५ जना प्रदेशसभापति र ४७ जना जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले अहिले आमचुनावको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।
संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन उनीहरूको आग्रह छ । ‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रीय रूपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
१८ पुसमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५ औं नियमित महाधिवेशन कार्यतालिका वैशाख २८–३१ मा गर्ने निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको उनीहरूको भनाइ छ ।
‘विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत् पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ’– सभापतिहरूले भनेका छन् ।
संयुक्त विज्ञप्ति जारी गरेका पाँच जना प्रदेश सभापतिले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पनि विशेष महाधिवेशनको औचित्य नभएको लिखित पत्र दर्ज गरेका थिए । ५ प्रदेश सभापतिसँगै गण्डकी र लुम्बिनीका प्रदेश उपसभापति पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।











प्रतिक्रिया