१२ दिनमै भत्कियो रवि कुलमानको एकता

रास्वपाबाट ठूलो धोका खाएको कुलमानको आरोप


–कुलमानले दिनदिनै माग थप्दै जाँदा समस्या आयो : रवि
–कुलमान बने औपचारिक रूपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष
–अब एक्लै निर्वाचनमा लड्ने कुलमानको उद्घोष

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता १२ दिनमा नै भत्किएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच केही दिनदेखि जारी वार्ता र संवादले निकास नदिएपछि दुवै पार्टीको एकता भाडिएको हो । यससँगै यी दुई दलको एकतालाई कतिपयले केटाकेटीको खेलजस्तो भएकाले भाँडिएको विश्लेषण गरेका छन् ।

एकता भाडिएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेले कुलमानले एकपछि अर्को गर्दै मागहरू थप्दै गएकाले एकता भत्किएको बताउनुभएको छ । उता, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाले यसअघि गरिएको सहमति भंग गर्दै एकता आफैं तोडेको आरोप लगाउनुभएको छ । घिसिङले अब आफू शनिवारदेखि औपचारिक रूपमा उज्यालो पार्टी नेपालको अध्यक्ष भएकाले सो पार्टीमार्फत आफ्नो चुनावी अभियानलाई देशव्यापी बनाउने बताउनुभयो ।

शनिवार पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपाले आफूहरूमाथि षड्यन्त्र गरेको आरोप लगाउनुभयो । रास्वपासँग एकता गरेपछिका १२ दिन आफूहरूका लागि अत्यन्तै कष्टकर भएको र सो अवधिमा रास्वपाका सभापतिलगायतका नेताहरूले आफूहरूलाई धोका दिएको कुलमानको आरोप छ ।

ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रवार र शनिवार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले मुख्यतः ६ वटा विषय राख्नुभएको थियो । तर, त्यसमा सहमति जुट्न सकेन ।
उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा शनिवार पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको बताउनुभयो ।

छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो । समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ,’ घिसिङले भन्नुभयो– ‘एकतर्फी रूपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो । एकतर्फी रूपमा सहमति भंग भएको उहाँले मलाई जानकारी दिनुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।’

घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताउनुभयो । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उहाँको भनाइ छ ।
कुलमान घिसिङले संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको आरोप पनि लगाउनुभयो ।