काठमाडौं ।
तीनमहिना अघि झापा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह दोस्रोपटक भारत जाने तयारी गर्नुभएको छ । नेपालमा फेरि राजतन्त्र फर्कन सक्ने चर्चा चलिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र भारत जान लाग्नुभएको हो । उच्चस्रोतका अनुसार उहाँ माघको दोस्रो साता उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्न लखनउ जान लाग्नुभएको हो । यसअघि उहाँ भारतको सिलगढी पुगेर विभिन्न राजनीतिक भेटघाट गर्नुभएको थियो ।
करिब ७ देखि ९ दिन भारतमै बिताउने तयारीमा रहनुभएका ज्ञानेन्द्रले उत्तरप्रदेशमा राजनीतिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजाको टोली जनकपुर हुँदै लखनउ जानेछ । भारतको सीमा सुरु भएदेखि पूर्वराजाको सुरक्षा व्यवस्था उत्तरप्रदेश सरकारले गर्नेछ ।
अत्यन्तै गोप्य रहेको अबको भ्रमणमा नेपालमा हिन्दुराज्य र राजतन्त्रको विषयमा छलफल हुनेछ । राप्रपा, दुर्गा प्रसार्इंलगायतले राजतन्त्र ल्याउने आन्दोलन गर्ने चेतावनी दिएको बेला पूर्वराजा ज्ञानेन्द्र परिवार उत्तरप्रदेश जान लागेको हो । नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जी पुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका छन् । सोही मेसोमा पूर्वराजा झापा बसेर सूक्ष्म राजनीति गरिरहनुभएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापामै रहने पूर्वराजाले झापास्थित हिमालयन टी गार्डेनमा गोप्य रूपमा विभिन्न तहका नेतासँग कुराकानी गरिरहनुभएको बताइएको छ । त्यसैक्रममा उहाँ नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी मित्रसँग छलफल गर्न भारत जान लाग्नुभएको हो । उच्चस्रोतका अनुसार माघ पहिलो साता भ्रमण तालिका आउनेछ ।
यसअघि राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पूर्वराजा शाह झापा पुग्नुभएको थियो । त्यसपछि कात्तिक १९मा लामो समय बसाइको लागि भारत जानुभएको थियो । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र परिवार अभैm करिब दुई महिना झापा रहनुहुने कार्यक्रम छ । झापा बसाइको क्रममा उहाँले पूर्वाञ्चल र मध्यतराईका केही जिल्लामा राजनीतिक भेटघाट गर्ने कार्यक्रमलाई जारी राख्दै आउनुभएको छ ।
नितान्त पारिवारिक भ्रमण भनिए पनि गोप्य रूपमा राजनीति चलखेल र भारतसँग सम्बन्ध बनाउन पूर्वराजाले लगातार भारत भ्रमण जारी राख्नुभएको छ । हाल झापामा पूर्वरानी कोमल, छोरी प्रेरणा, धीरेन्द्र पुत्रीत्रय पूजा, दिलासा र सिताष्मा, राजीव शाही, निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा. फणिराज पाठकलगायतका परिवार बसिरहेका छन् ।
विगतमा भएको आन्दोलनको समीक्षा र अबको राजनीतिलगायतका विषयमा अध्ययन गर्न पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार भारत जान लाग्नुभएको स्रोतको भनाइ छ । यसअघि सिलगढी भ्रमणमा पनि पूर्वराजाले राजनीतिक भेटघाट गर्नुभएको थियो । भारत भ्रमणमा उहाँ केही सुरक्षाकर्मीसहित एक्लै जाने गर्नुभएको छ । नाती हृदयन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय जेन–जी पुस्तासँग कुुराकानी गरिरहनुभएको छ ।
तिहारको टीकाको दिन बहिनी शोभाको घर शोभा कुञ्जबाट बाहिरिएलगत्तै जेन–जी पुस्तासँग भेट गर्नुभएको थियो । सो भेटघाटपछि निर्मल निवास उत्साही बनेको छ । आफूभन्दा पनि नाति हृदयन्द्रलाई राजगद्धीमा राख्ने चाहना राख्नुभएका ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत सामाजिक कार्यक्रम आयोजना जारी राख्नुभएको छ ।
अमेरिकामा अध्ययनरत नाती हृदयन्द्र शाह केही समयअघि पोखरा, जुम्ला भ्रमण र केही सार्वजनिक कार्यक्रममा सहभागी भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । दुर्गा प्रसाईंको समूहले पनि राजतन्त्र ल्याउने विषयमा आन्तरिक तयारी गरिरहेका छन् ।
‘अहिले देश नै नरहने हो कि भन्ने चिन्ता छ ’
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश नै नरहने हो कि भन्ने चिन्ता र निराशा छाउन पुगेको बताउनुभएको छ ।
पूर्व राजा शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिवार सन्देश जारी गर्दै भन्नुभएको छ‘ हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’
पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित तुल्याएको बताउनुभयो ।
शान्ति र आर्थिक प्रगतितर्फ देशलाई लैजाने दलहरूको चाहनाअनुसार राजतन्त्र जनतामा सुरक्षित गर्दै श्रीपेच त्यागेको उहाँले स्मरण गराउनुभएको छ । ’झन्डै दुई दशक अघि शान्ति ल्याउँछौं, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार श्रीपेच र राजतन्त्र जनताको नासो जनताकै संरक्षणमा बुझाएका हौं,’ शाहले भन्नुभएको छ ।
भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने बताउँदै उहाँले सबै नेपालीले कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले भन्नुभयो ।
झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार, आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको उहाँको भनाइ छ । यद्यपि, सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख नहुने उहाँले स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ । नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ ।
देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको संकेत दिइरहेको भन्दै अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरू समेत पलायन हुन थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।











प्रतिक्रिया