विश्व अस्थिर बन्दै गएको छ, हस्तक्षेप र अत्याचारविरुद्ध एमालेको स्पष्ट नीति : अध्यक्ष ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा तीव्र रूपमा बढ्दै गएको अस्थिरता, असुरक्षा र बाह्य हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता प्रवृत्तिविरुद्ध पार्टीको स्पष्ट र स्थिर नीति पुनः पुष्टि गर्नुभएको छ। पार्टी केन्द्रीय कमिटी बैठकमा समसामयिक विश्व घटनाक्रमबारे धारणा राख्दै ओलीले भन्नुभयो, “विश्व राजनीति झन्झन् अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ।

नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदैछ, बहुपक्षीयता निष्प्रभावी बन्दै गएको छ र शक्ति राष्ट्रहरूबीच अस्वस्थ प्रतिस्पर्धा तीव्र भइरहेको छ।” उहाँले हाल देखिएका विश्वव्यापी घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सार्वभौम राष्ट्रका नेतामाथि हत्या धम्की, अपहरण, आतङ्कवादी आक्रमण, निर्दोष नागरिकमाथि नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सैन्य प्रयोग तथा जलवायु सङ्कटजस्ता चुनौतीहरूले मानव सभ्यताकै अस्तित्व जोखिममा पारेको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले नेकपा एमालेको परराष्ट्र नीतिका आधारभूत मान्यताहरू स्पष्ट पार्दै स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित बाह्य सम्बन्ध, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अहस्तक्षेप र सह–अस्तित्वको प्रवद्र्धन नै पार्टीको प्राथमिकता रहेको दोहोर्याउनुभयो। अतिवाद, कट्टरपन्थ, संरक्षणवाद र पथभ्रष्ट राजनीतिविरुद्ध पार्टी दृढतापूर्वक उभिएको उहाँको भनाइ थियो।

“सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ हाम्रो परराष्ट्र नीतिको मूल मर्म हो,” ओलीले भन्नुभयो, “कुनै पनि मुद्दा वा विचारधाराले राष्ट्रहरूबीच ध्रुवीकरण र विभाजन सिर्जना गर्नु हुँदैन। अन्तर्राष्ट्रिय विवादहरू संवाद, समझदारी र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा समाधान हुनुपर्छ।” उहाँले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिने प्रयास र त्यसपछि चालिएको कानुनी प्रक्रियालाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तविपरीत भएको भन्दै पार्टीको तर्फबाट आपत्ति जनाउनुभयो।

त्यस्तै, युक्रेनको भौगोलिक अखण्डतासम्बन्धी विवाद, ग्रिनल्याण्डमाथि नियन्त्रणको प्रयास तथा गाजा र वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतीप्रति पनि उहाँले गहिरो असन्तोष व्यक्त गर्नुभयो। अल्पसङ्ख्यक समुदायमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै ओलीले बङ्गलादेशको अवस्था सुधार्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो। साथै, म्यान्मारमा लोकतान्त्रिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनुपर्ने मागसमेत उहाँले दोहोर्याउनुभयो।