काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा–पौडेल भेट पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको विषय वा समसामयिक राजनीतिक अवस्थाबारे केन्द्रित थियो कि थिएन भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
तर कांग्रेसभित्र देखिएको तीव्र मतभेद र नेतृत्व संकटका बीच भएको यो भेटलाई राजनीतिक सन्देशका रूपमा बुझिएको छ। यसअघि आज बिहान मात्रै सभापति देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। सो भेटमा देउवाले शीतल निवास जानुपर्ने कारण देखाउँदै शेखर कोइरालासँगको छलफल पछि निरन्तरता दिने बताएका थिए। त्यसलगत्तै देउवा राष्ट्रपति निवासतर्फ प्रस्थान गरेका हुन्। कांग्रेसभित्र संस्थापन पक्ष र असन्तुष्ट समूहबीच निरन्तर संवाद भइरहेको भए पनि हालसम्म कुनै ठोस सहमति वा निष्कर्ष ननिस्किएको नेताहरूको भनाइ छ।
संस्थापन पक्ष विशेष महाधिवेशन स्थगित भएपछि मात्रै थप राजनीतिक सहमति खोज्न सकिने अडानमा छ। संस्थापन समूहले प्रतिनिधिसभा उम्मेदवारी दर्ता र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्र विशेष महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव अघि सारेको छ। तर महामन्त्रीद्वय भने तोकिएको २७–२८ मितिको बटमलाइनबाट पछि हट्न तयार नदेखिँदा पार्टीभित्रको विवाद झन् पेचिलो बन्दै गएको छ।











प्रतिक्रिया