काठमाडौं ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक (यूएन रेजिडेन्ट कोअर्डिनेटर) हाना सिङ्गर–ह्याम्डीले आफ्नो कार्यकाल पूरा गरी नेपाल छोड्नुअघि नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग विदाइ भेट गरेकी छन्। नेपाली सेना मुख्यालयमा भएको भेटलाई उनले “अर्थपूर्ण विदाइ शिष्टाचार भेट”को रूपमा वर्णन गरेकी छन्।
भेटका क्रममा हानाले नेपालमा रहँदा पाएको सहयोग, सहकार्य र समन्वयप्रति नेपाली सेना तथा नेतृत्वप्रति आभार व्यक्त गरेकी थिइन्। प्रधानसेनापति सिग्देलसँगको भेटमा हानाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना (यूएन पिसकिपिङ) अभियानमा नेपाली सेनाले देखाउँदै आएको उत्कृष्ट नेतृत्व र योगदानको विशेष प्रशंसा गरिन्।
उनले विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने देशका रूपमा नेपालले सेवा, बलिदान र विश्व शान्तिप्रतिको प्रतिबद्धतामा उच्च मापदण्ड स्थापित गरेको बताइन्। “विश्वकै शीर्ष योगदानकर्ताका रूपमा नेपाली शान्ति सैनिकहरूले सेवा, त्याग र विश्व शान्तिप्रतिको प्रतिबद्धतामा उदाहरणीय मानक कायम राखिरहेका छन्।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनमा नेपालको दीर्घकालीन योगदानप्रति गर्व छ,” उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्। हाल नेपाली सेना संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानमा सबैभन्दा बढी सैनिक तैनाथ गर्ने देशको सूचीमा शीर्ष स्थानमा रहेको छ।











प्रतिक्रिया