चिसोका कारण घोडेपानी सडक स्तरोन्नति रोकियो


काठमाडौं ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम चिसो र प्रतिकूल मौसमका कारण अस्थायी रूपमा स्थगित गरिएको छ। अत्यधिक चिसोले खोल्सामा पानी जम्ने, ढलान सामग्री नजम्ने तथा मजदुरहरूको स्वास्थ्यमा समस्या देखिएपछि निर्माण कार्य रोकिएको हो।

समुद्री सतहदेखि २,४०० देखि २,८०० मिटर उचाइमा रहेको चित्रे–घोडेपानी सडक योजनाको हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार मौसम अनुकूल भएपछि फागुन महिनादेखि पुनः निर्माण कार्य सुचारु गरिनेछ।

चार किलोमिटर लामो सडकअन्तर्गत हालसम्म दुई किलोमिटरमा फराकिलो बनाउने, ग्रेड र घुम्ती सुधार तथा नाली निर्माण सम्पन्न भएको छ। सडक स्तरोन्नतिपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगमन बढ्ने र स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।