रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च, अर्थतन्त्रमा सकारात्मक संकेत


काठमाडौं ।

नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

रेमिट्यान्सको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति बढेर ३२ खर्ब एक अर्ब रुपियाँ पुगेको छ, जसले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता देखाएको छ । चालु खाता र शोधनान्तर दुवै बचतमा रहँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ । निर्यात, प्रत्यक्ष वैदेशिक लगानी र बैङ्किङ तरलतामा सुधार आउँदा समग्र आर्थिक अवस्था सुदृढ बन्दै गएको राष्ट्र बैङ्कले जनाएको छ ।