काठमाडौँ।
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा स्वयं सहभागी हुनुपर्ने बताएका छन्।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको कार्य अवलोकन गर्न पुगेका नेता भण्डारीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस देउवाको नेतृत्वमा रहेको पार्टी भएकाले विशेष महाधिवेशनमा उनको उपस्थिती अनिवार्य रहेको बताएका हुन्।
डा. भण्डारीले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने उल्लेख गर्दै त्यसमा पार्टीका सबै शीर्ष नेताहरू सहभागी हुने विश्वास व्यक्त गरे।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति संकेत गर्दै उनले पार्टीको वर्तमान अवस्था र भविष्यको दिशा यही विशेष महाधिवेशनले तय गर्ने बताए।
उनले भने, “७७ वटै जिल्लाका साथीहरू हामीसँग छन्। सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू नेपाली काँग्रेसकै हुन्, जो पार्टीका वर्तमान र भविष्य दुवै हुन्। त्यसैले सबै नेताहरूलाई मिलाएर अघि बढ्नुपर्छ। विशेष महाधिवेशनमा सभापति पनि सहभागी हुनुपर्छ, किनकि यो उहाँकै पार्टी हो।”
नेता भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको काँधमा अझ बढी रहेको उल्लेख गर्दै सबै नेताहरू संयमित र जिम्मेवार भूमिकामा उभिनुपर्ने आवश्यकता औँल्याए।











प्रतिक्रिया