जीवन एउटा यस्तो महाकाव्य हो, जसको रचनाकार हामी आफैँ हौँ । यसको आरम्भ एउटा सुन्दर र रहस्यमय मौनताबाट हुन्छ । हामी यो धर्तीमा कहिले र कुन घडीमा आइपुग्छौँ, त्यसको हामीलाई कुनै हेक्का हुँदैन । एउटा सानो शरीर, मुठ्ठीभरिका औँलाहरू र अबोध आँखा लिएर हामी जब यस धर्तीमा खुट्टा टेक्छौँ, तबदेखि नै हाम्रो परिचयको शृङ्खला शुरु हुन्छ । शुरुमा हामी केवल ‘प्राणी’ हुन्छौँ, तर बिस्तारै आमाको न्यानो काख र बुबाको दरिलो छहारीले हामीलाई एउटा अर्थ दिन्छ ।
बाल्यकाल जीवनको त्यो बिहानी हो, जहाँ स्वार्थको कुनै बादल हुँदैन र अहङ्कारको कुनै पहाड हुँदैन । त्यो समय सबैको प्यारो बन्नुको आनन्द नै बेग्लै हुन्छ । साना हातगोडा चलाउँदा होस् वा तोते बोलीमा संसारका जटिल प्रश्नहरू सोध्दा, बालकको रूपमा हामीले पाउने निष्कपट प्रेम नै जीवनको पहिलो रमाइलो पक्ष हो । बाल्यकालमा हामीलाई न भोलिको चिन्ता हुन्छ, न हिजोको पछुतो । हामी केवल वर्तमानमा बाँच्छौँ, शायद त्यही नै वास्तविक जीवन पनि हो ।
अलि–अलि बुझ्ने भएपछि जब हामी घरको साँघुरो सँघार नाघेर प्रकृतिसँग नाता गाँस्छौँ, तब जीवनको असली रङ्ग देखिन थाल्छ । यो विशाल संसार हाम्रो लागि एउटा ठूलो पाठशाला बनिदिन्छ । हाम्रा वरिपरि रहेका अग्ला र अटल हिमालहरूले हामीलाई धैर्य र उच्चताको पाठ सिकाउँछन् । कलकल बग्ने स्वच्छ नदीनालाहरूले जीवनलाई निरन्तर बगिरहनुपर्छ भन्ने सन्देश दिन्छन् । वनजंगलको सुगन्ध, नाच्ने चराचुरुङ्गीहरू र रङ्गीचङ्गी फूलहरूले हाम्रो मन मात्र बहलाउँदैनन्, बरु हाम्रा संवेदनाहरूलाई कोमल बनाइदिन्छन् ।
कहिले खेतबारीको हरियालीमा हराउनु, कहिले गाईवस्तुका बाच्छाहरूसँग दौडिनु त कहिले आकाशको जून र तारालाई समात्ने सपना देख्नु– यिनै कुराले हाम्रा दिनहरू मात्र कटाउँदैनन्, बरु भित्रैदेखि बाँच्ने एउटा दह्रो प्रेरणा पनि दिइरहन्छन् । प्रकृतिको यो काखमा हुर्कँदा मानिसले बुझ्छ कि ऊ एक्लो छैन, ऊ त यो विशाल ब्रह्माण्डको एउटा सानो तर जीवन्त अंश हो । प्रकृतिका हरेक अवयवले दिने यो साथ नै जीवनको प्रारम्भिक तर गहिरो रमाइलो हो ।
यस प्रकृतिको काखबाट अलि पर पुग्दा आधुनिक कालमा मानव निर्मित भौतिक सम्पदाहरू र प्रविधियुक्त निर्माणहरूले हाम्रो जीवनलाई अर्को रमाइलो पाटो प्रदान गरेका छन् । आजको संसारमा विज्ञानले गरेका चामत्कारिक आविष्कारहरू, आकाश छुने गगनचुम्बी महलहरू, समुद्रमाथि बनेका लामा पुलहरू र मानिसको कामलाई सहज बनाउने जटिल यन्त्रहरू देख्दा मानव बुद्धिको श्रेष्ठताप्रति गर्व लाग्छ । आधुनिक प्रविधिको प्रयोगले संसारलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ ।
टाढा रहेका आफन्तसँग पलभरमै भिडियोमा कुरा गर्न पाउनु, इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै कुनाको जानकारी तुरुन्तै लिनु र प्रविधिको सहायताले कठिन कामहरू पनि चुट्कीको भरमा सम्पन्न गर्नुले हाम्रो जीवनलाई निकै सुविधायुक्त र रोचक बनाएको छ । प्रविधिको यो विकासले मानिसको समय बचाएको मात्र छैन, बरु नयाँ कुरा सिक्ने र अनुभव गर्ने अनन्त ढोकाहरू पनि खोलिदिएको छ । आधुनिक संरचनाहरूको भव्यता र प्रविधिको यो जादुमय संसारमा बाँच्न पाउनु पनि हाम्रो समयको एउटा ठूलो रमाइलो हो ।
समयको गतिसँगै जब हामी युवा अवस्थाको दैलोमा उभिन्छौँ, तब जीवनको लय अझ द्रुत, जोसिलो र रङ्गीन बन्न थाल्छ । यो अवस्था ऊर्जाको यस्तो मुहान हो, जहाँ असम्भव भन्ने शब्द शब्दकोशमै हुँदैन । यो उमेरमा हाम्रा सपनाहरूका पखेटा पलाउँछन् र हामी त्यसै–त्यसै आकाश छुन खोज्छौँ । परिवारको माया र सुरक्षाको घेराभन्दा अलि बाहिर निस्केर जब हामी समाजसँग जोडिन्छौँ, तब शिक्षकहरूको बौद्धिक सान्निध्य र विद्यार्थी साथीसँगीहरूको रमाइलो जमघटले जीवनलाई एउटा नयाँ आयाम दिन्छ ।
तर, युवा अवस्थाको असली रमाइलो केवल उन्मुक्त मोजमस्तीमा मात्र सीमित छैन । यहाँ त कर्तव्यको भारीलाई फूलको थुँगाझैँ सहजताका साथ उठाउनुको छुट्टै गौरव छ । अलिकति मिहिनेत र अलिकति जिम्मेवारीको काँध थाप्दा मनमा जुन आत्मसम्मान र ऊर्जा पैदा हुन्छ, त्यसले जिन्दगीलाई अझ अर्थपूर्ण बनाउँछ । आफ्नो पसिनाले आफ्नै भविष्यको चित्र कोर्नुको आनन्द नै बेग्लै हुन्छ ।
यही ऊर्जावान् समयमा जब हामी केही नयाँ वस्तु वा विचारको सिर्जना गर्छौँ, तब मनमा एउटा अलौकिक तृप्ति छाउँछ । सिर्जनाको आनन्द भनेको ईश्वर हुनुको आभास पाउनुजस्तै हो । चाहे त्यो एउटा चित्र कोर्नुहोस्, बगैँचामा नयाँ फूल फुलाउनुहोस्, कुनै नयाँ प्रविधि विकास गर्नुहोस् वा एउटा सानो लेख लेख्नुहोस्– शून्यबाट केही निर्माण गर्दा प्राप्त हुने त्यो खुशी अरू कुनै भौतिक सुखसँग तुलना हुन सक्दैन ।
युवा अवस्थामा यदि थोरै संयमता र सुहाउँदिलो नम्रतालाई जीवनशैली बनाउन सकियो भने, मानिस केवल सफल मात्र हुँदैन, बरु सबैको श्रद्धाको पात्र पनि बन्छ । अध्ययनको लामो र धैर्यपूर्ण यात्रा पूरा गरेपछि जब मानिस आफ्नो रुचि र क्षमताअनुसारको कार्यक्षेत्रमा संलग्न हुन्छ, तब श्रम पनि एउटा सिर्जना र उत्सव बन्न पुग्छ । यही सिलसिलामा साहित्यको संसारमा प्रवेश गर्नु अर्को गहिरो रमाइलो हो । साहित्यले हामीलाई सहानुभूति राख्न सिकाउँछ र संसारका मानिसहरूका बीचमा रहेका भावनाका साझा तन्तुहरूलाई बुझ्न मद्दत गर्छ । राम्रो पुस्तक पढ्नु भनेको एउटा विद्वान व्यक्तिसँग संवाद गर्नुजस्तै हो, जसले हाम्रो एकान्तलाई पनि उत्सवमा बदलिदिन्छ ।
जीवनको अर्को सुन्दर पाटो भनेको परोपकार र सेवा हो । मानिसको जीवन तब मात्र पूर्ण हुन्छ, जब उसले आफूभन्दा बाहिर निस्केर अरूको लागि केही सोच्छ । कसैलाई गाह्रोसाह्रो परेको बेलामा सानो सहयोग गर्नु, कसैको आँसु पुछ्नु वा निराश मनमा आशाको ज्योति बाल्नुले जुन खुशी दिन्छ, त्यो नै जीवनको सर्वोच्च रमाइलो हो । परोपकारले हामीलाई अरूसँग जोड्छ र हाम्रो अहङ्कारलाई पगालिदिन्छ । अरूलाई खुशी बनाउन सक्नु नै आफैँ खुशी हुने सबैभन्दा सजिलो बाटो हो । समाजमा रहेका दीनदुःखीहरूको सेवा गर्दा वा अप्ठ्यारोमा परेका साथीलाई हात दिँदा प्राप्त हुने त्यो आत्मिक आनन्दले हाम्रो जीवनलाई सुगन्धित बनाउँछ । परोपकार भनेको केवल धन दिनु मात्र होइन, बरु कसैलाई समय दिनु, मीठो बोल्नु र उसको अस्तित्वलाई सम्मान गर्नु पनि हो ।
आफ्नो रुचि, इच्छा र भावनाको धड्कन बुझ्ने जीवनसाथीसँगको सहयात्रा शुरु भएपछि त जीवनको रमाइलोले अर्को उचाइ लिन्छ । दुईवटा भिन्न अस्तित्वहरू जब एउटै लक्ष्य र प्रेमको सूत्रमा बाँधिन्छन्, तब संसारका सारा दुःखहरू पनि साना लाग्न थाल्छन् । त्यसपछि सन्तानको प्राप्ति अर्को ठूलो सुख हो । आफ्नै काखमा एउटा नयाँ जीवनको मुस्कान देख्दा मानिसलाई आफूले आफैँलाई नयाँ रूपमा जन्माएको आभास हुन्छ ।
उनीहरूको तोते बोली सुन्नु, उनीहरूको सानो पाइलालाई औँला समातेर डो¥याउनु र उनीहरूको प्रगतिमा आफ्नो भविष्य देख्नु मानव जीवनको एक अद्भुत र अलौकिक उपलब्धि हो ।समयको चक्र कहिल्यै रोकिँदैन । हिजोका साना नानीहरू जब वयष्क हुन्छन् र परिवार विस्तार हुन्छ, तब खुशीका रङ्गहरू थप गाढा हुँदै जान्छन् । छोराले बुहारी ल्याउँदा एउटी नयाँ छोरीको आगमन भएको महसुस हुनु र छोरीले ज्वाइँ पाउँदा सम्बन्धको अर्को बलियो खम्बा थपिनु कति रमाइलो कुरा हो ! एउटा वृक्षले फल दिएपछि र त्यसका बीउहरू फेरि नयाँ बिरुवा बनेर उम्रिँदा जुन सन्तुष्टि प्राप्त हुन्छ, त्यस्तै खुशी एउटा अभिभावकले आफ्नो कुल र वंशको विस्तारमा पाउँछ ।
यो समय भनेको आफ्ना अनुभवहरूलाई बाँड्ने र नयाँ पुस्तालाई सही मार्ग देखाउने समय पनि हो । परिवारको एउटा ठूलो घेराभित्र बसेर सबैको सुख–दुःखको साक्षी बन्नुमा एउटा बेग्लै गरिमा महसुस हुन्छ ।जब जीवनको मध्याह्न ढल्केर साँझ पर्न थाल्छ, तब बुढ्यौलीको शान्त प्रवेश हुन्छ । बुढ्यौलीलाई धेरैले शरीरको शिथिलता वा रोगको आगमनको रूपमा हेरेर डराउँछन्, तर दार्शनिक दृष्टिले हेर्ने हो भने यो त जीवनभरको अनुभवको निचोड र विश्रामको उत्कृष्ट घडी हो ।
वर्षौँदेखि बोकेका जिम्मेवारीका पोकाहरू, छोराछोरीको लालनपालनका चिन्ताहरू र समाजका अपेक्षाहरू बिस्तारै नयाँ पुस्तालाई सुम्पिन पाउनुमा एउटा अलौकिक मुक्ति छ । यो समय भनेको दौडधुपको संसारबाट अलि पर हटेर आफ्नै अन्तर्मनको यात्रा शुरु गर्ने बेला हो । अब हामीलाई कसैसँग केही प्रमाणित गर्नु छैन, न त कतै पुग्नु नै छ । अबको यात्रा केवल आफ्नै आत्मातिरको यात्रा हो । आध्यात्मिक चिन्तनमा डुब्दा प्राप्त हुने त्यो परम शान्ति, संसारका कुनै पनि भौतिक सुख वा पद–प्रतिष्ठासँग तुलना हुन सक्दैन ।
बुढ्यौलीमा आध्यात्मिक हुनु भनेको केवल मन्दिर जानु वा माला जप्नु मात्र होइन, बरु यो त ‘हुनु’ र ‘नहुनु’ बीचको सूक्ष्म भिन्नता बुझ्ने कला हो । विगतका गल्तीहरूमा पछुताउनुभन्दा पनि तिनबाट प्राप्त ज्ञानको उज्यालोमा वर्तमानलाई नियाल्नुको रमाइलो अर्कै हुन्छ ।
जीवनको अन्त्य अर्थात् मृत्यु कुनै दुःखद घटना वा अन्धकार होइन । यो त एउटा स्वाभाविक, लामो र सफल यात्रापछिको मीठो निद्राजस्तै हो । जसरी एउटा भरिएको घैँटो फुट्दा त्यसभित्रको आकाश बाहिरको विशाल आकाशमा मिसिन्छ, त्यसरी नै सारा जीवनभरको परिश्रम, संघर्ष, खुशी र अनुभवहरूको सँगालो बोकेर यो नश्वर शरीरलाई अन्ततः धर्तीमाताकै काखमा सुम्पिनु नै जीवनको पूर्णता हो । यो शरीर धर्तीको हो र धर्तीलाई नै फिर्ता दिनुमा जुन इमानदारी र समर्पण छ, त्यो नै सबैभन्दा ठूलो रमाइलो हो । आफ्ना पछाडि एउटा असल संस्कार, केही राम्रा सम्झनाहरू र एउटा सुसंस्कृत पुस्ता छोडेर जान पाउनु नै सफल जीवनको मापदण्ड हो ।
अन्त्यमा, जीवन एउटा छोटो तर अत्यन्तै मूल्यवान् अवसर हो । यसलाई केवल गुनासो गरेर वा अरूको देखासिकी गरेर खेर फाल्नुहुँदैन । प्रकृतिको सुन्दरतामा रमाउँदै, मानव निर्मित संरचना र प्रविधिको बुद्धिमत्तापूर्ण उपयोग गर्दै, आफ्नो कर्तव्य पूरा गर्दै र अरूको जीवनमा अलिकति भए पनि खुशी भर्दै अगाडि बढ्नु नै रमाइलो जीवनको सार हो ।











प्रतिक्रिया