ओखलढुंगामा शृङ्खलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ


काठमाडौं। 

 ओखलढुंगामा शृङ्खलाबद्ध रूपमा हत्या तथा लुटपाटमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले अनुसन्धानपछि चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार  पुस १५ गते बिहान करिब ८ बजे ओखलढुंगा चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापा मगरको कोदालो तथा अन्य धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको थियो। हत्या पश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपिएको र पसल तथा कोठाबाट करिब एक लाख नगद तथा सुनका गरगहना लुटपाट गरिएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तहरूले यसअघि पनि गत  असोज २६ गते राति करिब १० बजे ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ चार्खुमा बस्दै आएकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवाल (कार्की)को बन्चरो प्रहार गरी हत्या गरी नगद तथा सुनका गहना लुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चिशंखुगढी गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, वडा नं. ४ रातमाटेका ३० वर्षीय विनोद राई, सोही स्थानका ३० वर्षीय प्रकाश भुजेल र वडा नं. ८ माम्खाका ३० वर्षीय दोर्जे भनिने अशोक भुजेललाई पक्राउ गरेको हो।

प्रहरीले घटनासँग सम्बन्धित विभिन्न प्रमाणसमेत बरामद गरेको छ। चार्खु घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बन्चरो, लुटिएको सुन गालेर बनाइएको ५ दशमलव ८० ग्राम तौलको औंठी, भदौरे घटनास्थलबाट कोदालो, अभियुक्तको घरबाट खुकुरी र भरुवा बन्दुक (दुई नाल), लुटिएको रिचार्ज कार्ड तथा चार थान मोबाइल फोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

पक्राउ परेका अभियुक्तहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।