नयाँ वर्ष, नयाँ अवसर हो । आफ्नो जीवनलाई चिन्नका लागि नयाँ वर्ष एउटा नयाँ सम्भावना हो । नयाँ वर्षको हार्दिक शुभकामना ! यो वर्ष तपाईंको जीवनमा शान्ति होस्, सुख होस् । तपाईं अगाडि बढ्नुहोस् तर मैले यसो भनेरै चाहिँ केही पनि हुनेछैन । शान्ति, शान्ति भनेर शान्ति प्राप्त हुँदैन । जे–जति हुनुपर्ने हो त्यो भित्रबाटै हुनुपर्छ । यदि तपाईं आफ्नो जीवनमा शान्ति चाहनुहुन्छ भने यसका लागि तपाईंले केही गर्नुपर्छ । हामी पहिल्यैदेखि आफ्नो कल्पनाले भरिएका हुन्छौँ– यो हुनेछ, त्यो हुनेछ, किनभने नयाँ वर्ष आएसँगै यस्तै हुन्छ । यो त केही मानिसले बनाएको कानुन मात्रै हो । हामी त यो दिन सन् २०२५ समाप्त भयो अनि यो दिन सन् २०२६ शुरु भयो भन्छौँ । यसले दिन, सूर्य, चन्द्रमालाई प्रभाव पर्ने होइन । एक वर्ष पूरा भएपछि एउटा नयाँ वर्ष आउँछ । वास्तवमा केही कुरा आएपछि त्यसले आफूसँग केही लिएर आउँछ । नयाँ सालले आफूसँगै लिएर आएको अवसरका बारेमा तपाईं के भन्न चाहनुहुन्छ ? किनभने, हरेक दिनले एउटा नयाँ अवसर प्रदान गरिरहेको हुन्छ । त्यस अवसरबाट हामी कसरी पूर्णरूपमा फाइदा लिन सक्छौँ ? यो बुझ्नुपर्ने कुरा हो– तपाईंको सम्बन्ध तपाईंकै श्वाससँग छ, अरूको जीवनसँग नभएर तपाईंको आफ्नै जीवनसँग छ ।
कसैले कसैको पूजा गर्छ, कसैले कसैको पूजा गर्छ तर तपाईं कसको पूजा गर्नुहुन्छ ? यदि तपाईं आफूभित्र बसेका परमात्मालाई पुज्नुहुन्छ भने तपाईंको पूजा सिद्ध भएको छ । अरूले के गर्दै छन्, म पनि त्यसै गर्छु भन्नेचाहिँ होइन । वास्तवमा यस्तै हुन्छ, किनभने अरू मानिसको देखासिकी गरेर हामी पनि त्यस्तै गर्न थाल्छौँ । त्यस्तो हुनुहुँदैन । हामीले त हाम्रो हृदयबाट आएको आवाजका आधारमा कार्य गर्नुपर्छ । त्यसबाट हाम्रो उन्नति होस् । कसैले जतिसुकै धेरै आशीर्वाद दिए पनि हामीले आफ्नो हित हुने कामका लागि आफैँले प्रयास नगरेसम्म केही हुनेछैन । किनभने, पहिलादेखि नै आफ्नो मनरूपी बर्कोलाई मैलो बनाएका छौँ भने त्यसमा कसरी ती सृष्टिकर्ताको रङ्ग लाग्न सक्छ ? अनि, यस कुरालाई हामी कसरी बुझ्न सक्छौँ ? यदि हामी वास्तवमै आफ्नो जीवनमा शान्ति चाहन्छौँ भने हामी शान्तिको अनुभव गर्न सक्छौँ । किनभने, शान्ति हामीभित्रै छ, बाहिर होइन ।
आउँदै गरेको यस वर्षबाट पूरा फाइदा लिनुहोस् । तपाईंको उन्नति होस्– त्यो धनबाट होस्, शरीरबाट होस्, शान्तिका माध्यमले होस् । तपाईंप्रति कृपाको वर्षात भइरहोस् तथापि यदि तपाईंले यी सबै कुरालाई राम्रोसँग नियाल्नुभयो भने यी सबै चिज पहिलादेखि नै प्राप्त छन् । तपाईंमाथि कृपा भएको छ, तपाईंभित्र शान्ति छ, तपाईंभित्र प्रगति गर्ने क्षमता पनि छ । यी सबै कुरा तपाईंभित्र पहिलादेखि नै छन् । तपाईंको जीवनलाई आनन्दमय बनाउनका लागि तिनीहरूलाई कसरी उजागर गर्ने, तिनीहरूलाई कसरी बाहिर ल्याउने, तिनीहरूलाई कसरी पूरा गर्ने भन्ने कुरा बुझ्नु आवश्यक छ ।
यो जीवन एकचोटि पाइन्छ, बारम्बार पाइँदैन । कसैले कुनै चिजको चाहना राख्छ, कसैले अर्कै चिजको चाहना राख्छ तर तपाईंको यो एउटा चाहना पूरा भएको छ किनभने एकदमै ठूलो भाग्यले तपाईंलाई यो मानिसको शरीर प्राप्त भएको छ । यसकारण पूर्णरूपले यसको फाइदा उठाउनुहोस्, किनभने एकदिन सबैले जानुपर्छ । एकदिन आयौँ, एकदिन जानुपर्छ । यी दुई दिनका बीचमा यी सबै दिन समावेश छन् । यदि यी दिनलाई गुमायौँ भने यिनीहरू फर्केर आउँदैनन् । त्यसैले जे गर्नु छ, त्यसलाई तपाईंको हृदयमा रहिरहने गरी गर्नुपर्छ ।
हाम्रो जिन्दगीमा जे–जे भइरहेका छन्, ती किन भइरहेका छन् ? यसमा के भनिन्छ भने, यी सबै कुरा पूर्वजन्मको कर्मका फल हुन् । त्यसो हो भने कस्तो कर्म गर्नुभयो ? यी नानाथरी कुराहरूमा लागेर हामी भ्रमित हुन पुग्छौँ । तपाईं अवश्य पनि जीवित त हुनुहुन्छ तर तपाईंमा आफ्नै जिन्दगीको पहिचान नभएका कारण भ्रमित भइरहनुभएको छ । वैज्ञानिक दृष्टिले हेर्दा मानिस जन्मेपश्चात् उसको शरीर बिस्तारै–बिस्तारै बढ्दै जान्छ । ऊ क्रमशः २१ देखि २५ वर्षको भएपछि बिस्तारै बुढ्यौलीतर्फ अघि बढ्न थाल्छ । त्यसपछि हरेक वर्ष उमेर बढेसँगै बुढ्यौली पनि बढ्दै जान्छ । बिस्तारै आँखाको दृष्टि कमजोर हुन थाल्छ । चश्माको आवश्यकता पर्छ अनि चश्माको पावर पनि बढ्दै जान्छ । एउटा कस्तो समयसमेत आउँछ भने, डाक्टरले भन्छन्, ‘मोतीविन्दु भएको छ, अब शल्यक्रिया गराउनुपर्छ ।’
पहिला तपाईंले सहजै गर्न सक्ने काम गर्न पनि अब कठिन हुन थाल्छ । त्यसपछि त एउटा कस्तो समयसमेत आउँछ भने, तपाईंले साँच्चै नै बेवास्ता गर्नुभएको यो श्वाससमेत रहने छैन । तपाईं यो संसारमा आउनासाथ सबैभन्दा पहिला तपाईंले सास लिइरहनुभएको छ कि छैन भनेर हेरियो । तपाईं इन्जिनियर बन्नुहुनेछ, डाक्टर बन्नुहुनेछ, प्राध्यापक बन्नुहुनेछ, वैज्ञानिक बन्नुहुनेछ वा चन्द्रमासम्म पुग्नुहोला भनेर हेरिएन । तपाईंको जीवनकथा नै पहिलोपटक तपाईंभित्र श्वासले प्रवेश गरेपछि शुरु भएको हो । यसपछि एकदिन यही श्वास भित्रबाट बाहिर निस्कनेछ र फेरि कहिल्यै भित्र फर्किने छैन । त्यति बेला तपाईंको कथा समाप्त हुनेछ । त्यसैले यो आइरहेको अनि गइरहेको श्वासलाई चिन्नुहोस् ।
आमाले आफ्नो बच्चालाई ‘चुल्होको छेउमा नजाऊ, पोल्छ’ भनेर पटक–पटक सम्झाउँछिन् । तपाईंलाई आमाले ‘यो तातो छ, यसलाई नछोऊ, यसले हात पोल्छ’ भन्दा तपाईंले किन नमानेर छुनुभयो ? किनभने, उहाँले तपाईंलाई सिकाउन खोज्नुभएको कुरा केवल सिद्धान्त मात्रै थियो । हात पोलेपछि तपाईंले पोल्नुको अर्थ बुझ्नुभयो । त्यो शक्ति पनि यस्तै नै हुन्छ । उनका बारेमा असाध्यै धेरै वर्णन गरिएको छ । पुस्तकै पुस्तक लेखिएका छन् तर मानिसले त्यसको अनुभव नगरेसम्म उसले त्यसलाई बुझ्न सक्दैन । एकपटक मात्र होइन, त्यस चिजलाई जिन्दगीभरि नै महसुस गर्नु आवश्यक छ । अन्तिम समयमा कुन कुरा याद आउँछ ? सम्झनाहरू ! तपाईंको जीवनमा भएका कुराहरूलाई मात्रै त्यो समयमा सम्झनुहुनेछ । मानिस कोमामा गएका बेला उनका सबै स्मरणहरू गुम्छन् अनि उनी कस्तो अवस्थामा पुग्छन् ? उनलाई आफ्नै नाम थाहा हुँदैन । उनी कहाँ बस्छन् भन्ने कुरा थाहा हुँदैन । उनलाई केही पनि थाहा हुँदैन । त्यस बेला एउटै कुरा आवश्यक हुन्छ– दिमागमा स्पष्टता र हृदयमा आभार ।
तपाईं कुन चिजले बन्नुभएको छ ? अक्सिजन, हाइड्रोजन, कार्बन, क्याल्सियम, नाइट्रोजन, फस्फोरस । यी पदार्थबाट तपाईं मात्र बन्नुभएको होइन । यसमा मात्रा तल–माथि पर्न सक्छ तर सबै जीवहरू यिनै तत्त्वहरूबाट निर्माण भएका हुन् । तपाईं एउटा थोपो हुनुहुन्छ । तपाईंले त्यो समुद्रलाई बुझ्नुभयो, देख्नुभयो भने, त्यो समुद्रको अनुभव गर्नुभयो भने तपाईंले वास्तवमा जीवन के हो भन्ने कुरा पनि बुझ्नुहुनेछ ।
एकजना राजा थिए । एकपटक उनले आफ्नो छिमेकी देशमाथि आक्रमण गर्नुपर्ने थियो । उनले यसका लागि तयार हुनुपर्छ भनेर सोचे । यसै क्रममा राति उनी सोचमा परे, ‘यदि म मरेँ भने स्वर्गमा जानेछु कि नरकमा जानेछु ?’ केही समयपछि उनी आफैँलाई प्रश्न सोध्न थाले, ‘स्वर्ग भनेको के हो, नरक भनेको के हो ?’ यत्तिकैमा उज्यालो भयो । राजा तयार भए । घोडामा चढे अनि आफ्ना सेनासहित युद्धका लागि प्रस्थान गर्न लागे ।
राजाले परबाट एकजना साधु कतै गइरहेको देखे । उनी आफ्नो घोडालाई मोडेर त्यहाँ पुगे । साधुका नजिकै पुगेपछि राजाले सोधे, ‘हेर्नुहोस् साधुजी ! मलाई स्वर्ग के हो अनि नरक के हो भन्ने कुरा बताइदिनुहोस् ।’
साधुले भने, ‘मसँग समय छैन, म त निकै टाढा पुग्नुपर्नेछ । तपाईं जहाँ गइरहनुभएको छ त्यहाँ जानुहोस्, मसँग समय छैन ।’ यो कुराले राजा निकै क्रोधित भए । राजाले भने, ‘तिमीलाई थाहा छैन म को हुँ ? म यो राज्यको राजा हुँ । म तिम्रो गर्दन काट्न सक्छु । तिमीलाई म मार्न पनि सक्छु । तिमीले मसँग समय नै छैन भनेर मलाई भन्ने आँट कसरी ग¥यौ ?
साधुले शान्त स्वरमा उत्तर दिए, ‘महाराज, अहिले तपाईं नरकमा हुनुहुन्छ ।’ यतिखेर आफू नरकमा भएको भन्ने कुरा सुन्नासाथ राजा वास्तवमै सोचमा डुबे । राजाले सोचे, ‘हो, कुरा त सही हो, म अहिले नरकमा छु ।’ उनी घोडाबाट तल ओर्लिए अनि चरण समाएर भन्न थाले, ‘वास्तवमै महाराज हजुरले त मेरो आँखा खोल्नुभयो । म त साँच्चै घमण्डमा डुबेको रहेछु । मैले आफ्नै कुरामा लागेर आफू नरकमा भएको कुरासमेत थाहा पाइन । तपाईंले मेरो आँखा खोल्दिनुभयो अनि मलाई सत्य कुरा बताइदिनुभयो । म यसका लागि एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छु ।’
त्यसपछि साधुले भने, ‘महाराज ! यतिखेर तपाईं स्वर्गमा हुनुहुन्छ ।’
फरक कुरा त के मात्रै हो भने, मानिसले घमण्ड बोकेर आउँछ या प्रेमका साथमा आउँछ ? प्रेमभावले आउँछ, आभारका साथ आउँछ भने उसका लागि त स्वर्ग छ । स्वर्ग माथि छैन, तल छैन, स्वर्ग तपाईंभित्र छ । नरक पनि तपाईंभित्रै छ । यदि तपाईंलाई थाहा छैन भने नरकलाई भोगिरहनुभएको छ । यदि तपाईंको हृदयमा आभार छ र यो श्वासको मूल्यलाई बुझ्नुहुन्छ भने तपाईंको जीवनमा त स्वर्ग नै स्वर्ग छ ।
यदि तपाईंको हातमा एउटा एकदमै मूल्यवान् कपडा छ भने त्यसलाई फोहोर नहोस् भनेर तपाईं जतन गरी राख्नुहुन्छ नि होइन ! त्यसलाई बाहिरै निकाल्नुहुन्न । त्यसलाई मैलो नहोस् भनेर लगाउनु पनि हुन्न । तपाईंले यो संसारप्रति आभारी हुन त सिक्नुभयो तर ती सृष्टिकर्ताप्रति आभारी हुन सिक्नुभएन । मैलो त हुने नै छ । यदि तपाईं पनि त्यो वास्तविक आनन्दको अनुभूति गर्न चाहनुहुन्छ भने यसका लागि आफूभित्रको आँखा खोल्नुहोस् ।
भित्रका आँखाहरू खोल्ने उपाय के हो ? बाहिरका आँखाहरू बन्द गर्नुहोस् अनि भित्रको आँखालाई खोल्नुहोस् । भित्रको आँखा खुल्यो भने के देख्नुहुनेछ ? त्यो मोनिटर या स्पिकरजस्तो चिज होइन । त्यसको नियम फरक छ । त्यसबाट तपाईंभित्र भएकै चिज देखिनेछ । त्यो चिज देखियो भन्ने कुरा कसरी थाहा पाउनुहुनेछ ? हृदय आनन्दले भरिनेछ । यदि कसैले तपाईंलाई चुट्किला सुनायो भने त्यो चुट्किला रमाइलो खालको हो वा होइन भन्ने कुरा कसरी थाहा हुन्छ ? भन्नुहोस् त ! हाँसो उठ्छ नि ! यदि हाँसै उठेन भने त्यो चुट्किला राम्रो चुट्किला हो भन्ने नै लाग्दैन । यो पनि यस्तै कुरा हो । तपाईंले आफूभित्रको दृश्य देख्नुभएपछि तपाईंको जीवन वास्तविक आनन्दले भरिनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया