बैतडी । बैतडीका महिलाहरु व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।
अन्य खाद्यबालीमा जंगली जनावरहरुले क्षति पु¥याउन थालेपछि बेसार खेती गर्न थालेको पाटन–६ की कलशा लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँदरले अन्य बालीमा क्षति पु¥याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रुपमा बेसारखेती गर्न थालेका छौं ।’
जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका महिला उद्यमी समूहमा आबद्ध ४४ जना महिलाले व्यावसायिक रुपमा बेसार खेती गरिरहेका छन् । पहिला घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकोमा पछिल्लो समयमा व्यावसायिक रुपमा बेसार खेती गरिरहेको सुर्नया–६ की पवित्रा शाह चन्दले बताउनुभयो । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेतीसमेत गरिरहेको हो ।
सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ मा उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आबद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दीपेश धामीले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य आवश्यक सहयोग गर्दै आएको छ । व्यावसायिक बेसार खेती गरिरहेका महिलाहरुको खेतबाट साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरिएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाको खेतीसमेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताउनुभयो ।
रोगकीराको चुनौती :
व्यावसायिक बेसार र लसुनखेती गरिरहेका महिला किसानलाई रोगकीराले चुनौती दिएको छ । बेसार र लसुनखेतीमा समेत रोगकीराको प्रकोप देखिएपछि आफूहरु समस्यामा परेको सिगास–२ की परुली धामीले बताउनुभयो ।
बारीमा लगाएको लसुन र बेसारखेतीमा खुम्रे कीराको प्रकोप देखिएको सुर्नया गाउँपालिका–६, मुसेकी पवित्रा शाहीको भनाइ छ । रोगकीराका कारण लसुन र बेसारखेतीमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, ‘पहिला–पहिला लसुन र बेसारमा रोगकीरा लाग्दैनथ्यो तर अचेल यी बालीमा समेत रोगकीराको प्रकोप देखिन थालेको छ ।’
लसुन र बेसारखेती गरिरहेका अधिकांश किसानले रोगकीराको सामना गरिरहेका सारथी नेपालकी फिल्ड सुपरभाइजर मानमती भट्टले बताउनुभयो । रोगकीराको एकिन कारण नभए पनि काँचो गोबरमलको प्रयोगबाट कीरा लागेको हुन सक्ने अनुमान गरिएको छ ।
लसुन र बेसारखेतीमा लागेको खुम्रे कीराको विषयमा कृषि प्राविधिकहरुसँग छलफल भइरहेको छ । लसुन र बेसारमा विरलै रुपमा रोगकीरा लाग्ने भए पनि यो वर्ष भने धेरै किसान रोगकीराले हैरान भएको जनाइएको छ ।











प्रतिक्रिया