गाउँमा बल्ल शौचालय निर्माणको सुरसार

752
Shares

हेटौंडा । हेटौंडाबाट केवल सवा घण्टा यात्राको दूरीमा रहेको मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१०, गोपीराङका घरहरुमा बल्ल शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको गोपीराङ गाउँमा शौचालय निर्माण हुने भएको हो । बागमती प्रदेशको राजधानीस्थित मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा अझै करिब २५ प्रतिशत घरमा शौचालय बन्न बाँकी छ ।

सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयमा खुशी छाएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायत अन्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

केही दिनअघि पालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै समयभित्र निर्माण गर्न आग्रह गर्नुभयो । ‘खाल्डो खनिसक्नुभएको छ । अब तोकिएको सयमभित्र निर्माण सम्पन्न गर्नुस्,’ उहाँले भन्नुभयो । राज्यले ‘एक घर एक धारा’ को अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाइ रहने अध्यक्ष मुक्तानले बताउनुभयो ।
जथाभावी दिसापिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिसापिसाब गर्न उहाँले सुझाउनुभयो । पालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्ने भएको छ । ‘घरसँगै शौचालय निर्माण गर्नुपर्ने दायित्व तपाईंकै हो, किन निर्माण गर्नुभएन ? सधैं झाडी, खोल्सा, खोलाकिनारको भर पर्नु हुन्न । निर्माण सामग्रीको सदुपयोग गरी हाम्रो लागि हो यो भनेर समयमै काम सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।

वडा अध्यक्ष सूर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । शौचालय निर्माणपछि बालबालिका र वृद्धलाई सहजता हुने उहाँले बताउनुभयो । ‘३५–३६ घरधुरी छन् । पहिलो चरणमा १० घरका लागि शौचालय निर्माण गरिनेछ । समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण सामग्री वितरण गरिनेछ,’ वडा अध्यक्ष ब्लोनले भन्नुभयो ।

बालविकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामग्री सहयोग गरेको हो । यसअघि कैलाश–३, खिर्कीमा २० घरधुरीलाई आवश्यक सामग्री हस्तान्तरण गरी निर्माण भइरहेको छ । संस्थाले पालिकाभित्र शिक्षा र स्वास्थ्यसँग विभिन्न काम गर्दै आएको छ । संस्थाको नियम र लाभग्राहीसँगको सम्झौताअनुरुप सामग्री हस्तान्तरण गरिएको २५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कैलाश गाउँपालिकाको कुल जनसंख्या २१ हजार ८ सय ५६ छ भने त्यहाँ ३ हजार ४ सय ३ घरधुरी छन् । कैलाश गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकामध्ये एक हो । २७ फागुन २०७३ मा पालिका घोषणा गर्दा साबिकका डाँडाखर्क, कालिकाटार, गोगने, भार्ता पुण्यदेवी र नामटार (२, ५–९) गाविस यसमा गाभिएका थिए ।