पुटिनको निवासमा ड्रोन आक्रमणको आरोप युक्रेनद्वारा अस्वीकार


काठमाडौँ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा ड्रोन आक्रमण भएको आरोप लगाएपछि युक्रेनले त्यसलाई अस्वीकार गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको सरकारी निवासमा युक्रेनले आक्रमण गरेको भन्ने रुसको दाबीलाई खारेज गर्दै यसलाई शान्ति वार्तालाई तोडमोड गर्ने प्रयासको संज्ञा दिएका छन्। उनले रुसले युक्रेनविरुद्धको आक्रमणलाई निरन्तरता दिन बहाना खोजिरहेको आरोप लगाए।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीका मानवरहित हवाई सवारी साधन (ड्रोन) प्रयोग गरी रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको दाबी गरेका थिए।

यस घटनापछि रुसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्ने संकेत गरेको छ। यद्यपि, कथित आक्रमणको समयमा राष्ट्रपति पुटिन त्यहाँ उपस्थित थिए वा थिएनन् भन्ने विषयमा भने स्पष्टता आएको छैन।

जेलेन्स्कीले उक्त दाबीलाई “प्रसिद्ध रूसी झूट” भन्दै क्रेमलिनले युक्रेनमाथि आक्रमण जारी राख्न जनमत तयार पार्ने उद्देश्यले यस्तो प्रचार गरेको बताएका छन्।