काठमाडौँ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने मस्कोको दाबीलाई अस्वीकार गरेका छन्। उनले उक्त आरोपलाई “रुसी झुट” भन्दै शान्ति वार्तालाई कमजोर पार्ने नियोजित प्रयास भएको बताएका छन्।
रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा युक्रेनले रातभरि ९१ वटा लामो दूरीका मानवरहित हवाईयान (यूएभी) प्रयोग गरी आक्रमण गरेको दाबी गरेका थिए। उनका अनुसार ती सबै ड्रोनहरू रुसी हवाई सुरक्षा प्रणालीले नष्ट गरेको थियो। हमलामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको पनि उनले बताएका छन्। तर राष्ट्रपति जेलेन्स्कीले उक्त दाबीलाई पूर्ण रूपमा खारेज गर्दै रुसले शान्ति वार्ताबाट ध्यान मोड्न र युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिन बहाना खोजिरहेको आरोप लगाए।
सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखेका छन्, “यो गम्भीर विषय हो। अब विश्व चुप बस्नु हुँदैन। रुसलाई दिगो शान्तिको प्रयास कमजोर पार्न छुट दिन सकिँदैन।” लाभ्रोभले टेलिग्राममार्फत जारी विज्ञप्तिमा किएभलाई ‘आतङ्कवादी नीति अपनाएको शासन’ को संज्ञा दिँदै रुसको वार्ता स्थिति परिमार्जन गरिने चेतावनी दिएका छन्। यद्यपि, रुस अमेरिकासँगको वार्ता प्रक्रियाबाट बाहिरिने मनसायमा नरहेको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
यो दाबी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भएको भेटपछि सार्वजनिक भएको हो। भेटपछि जेलेन्स्कीले फक्स न्यूजसँग कुरा गर्दै सन् २०२६ सम्म युद्ध अन्त्य हुने सम्भावना रहेको बताएका थिए। तर अमेरिकी सहयोग बिना युक्रेनले युद्ध जित्न नसक्ने उनले स्पष्ट पारे। उनका अनुसार अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा सुनिश्चितता प्रस्ताव गरेको छ र यस विषयमा ट्रम्पसँग करिब ९५ प्रतिशत सहमति भइसकेको छ।
तर क्षेत्रीय विवाद, विशेषगरी रुसको नियन्त्रणमा रहेको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्र र डोनबास क्षेत्रको भविष्य अझै समाधान हुन बाँकी रहेको उनले बताए। हाल रुसले डोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र लुहाएन्स्क क्षेत्रको करिब ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ। यी दुई क्षेत्रलाई सामूहिक रूपमा डोनबास भनिन्छ। ह्वाइट हाउसका अनुसार अमेरिका–युक्रेन वार्तापछि राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग ‘सकारात्मक फोनवार्ता’ गरेका छन्।
क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उषाकोभका अनुसार उक्त फोनवार्ताका क्रममा पुटिनले आफ्नो निवासमा आक्रमण भएको दाबी ट्रम्पसमक्ष राखेका थिए। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सुरुमा घटनाबारे आफूलाई जानकारी नभएको बताए पनि पछि पुटिनबाट जानकारी पाएको र यस विषयमा आफू आक्रोशित भएको बताएका छन्। रुसको दाबीलाई समर्थन गर्ने प्रमाण अमेरिकासँग छ कि छैन भन्ने प्रश्नमा उनले भने, “हामी पत्ता लगाउने छौँ। सम्भव छ, आक्रमण भएको नै नहोस्, तर राष्ट्रपति पुटिनले मलाई आक्रमण भएको जानकारी दिएका छन्।” हालसम्म रुसको दाबीलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन। साथै, कथित आक्रमणका बेला पुटिन कहाँ थिए भन्ने विषय पनि अस्पष्ट छ।











प्रतिक्रिया