काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पदभार सम्हालेको दुई महिनाको अवधिमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता संवेदनशील क्षेत्रमा महत्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री गौतमले सुशासन, संस्थागत सुदृढीकरण र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाइएको बताउँनुभयो ।

कात्तिक ९ गते पदभार ग्रहण गरेकी मन्त्री गौतमले हालसम्म गरिएका रणनीतिक हस्तक्षेपहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन संरचनागत सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाका अनुसार स्वास्थ्य बिमा प्रणालीमा देखिएका दीर्घकालीन समस्या समाधान गर्न विज्ञ समिति गठन गरिएको छ । साथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दी सुनिश्चित गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का लागि पूर्वस्वीकृति प्राप्त भई आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
मन्त्री गौतमले बिमा प्रणालीअन्तर्गत अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रहेको रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिनुभयो । उहाले समयमै भुक्तानी नहुँदा स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावित हुने अवस्थालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

औषधि व्यवस्थापनतर्फ औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई पारदर्शी तथा प्रभावकारी बनाउन विज्ञ समिति गठन गरिएको मन्त्री गौतमले बताउँनुभयो । उहाका अनुसार नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिएको छ, जसले औषधिको गुणस्तर परीक्षण र नियमनमा विश्वासयोग्य प्रणाली विकास गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति व्यवस्थापन सुधारका लागि विद्यमान निर्देशिका र कार्यविधिको पुनरावलोकन गरिएको पनि मन्त्रीले जानकारी दिनुभयो । स्थानीय तहमा सञ्चालन हुने ५ देखि १५ शैयासम्मका आधारभूत अस्पतालका लागि आवश्यक उपकरणको सूची स्वीकृत भइसकेको छ । यससँगै जोखिमयुक्त गर्भवती महिला र नवजात शिशुको उपचार सेवामा सुधार ल्याउने उद्देश्यले सेवा सुदृढीकरण गरिएको उहाले बताउनुभयो ।

प्रदेशस्तरमा कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा विस्तार तथा सुदृढीकरणलाई पनि दुई महिनाको उपलब्धिमा समेटिएको छ । यसले शिशु मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको अपेक्षा छ । त्यस्तै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै संघीय स्तरका १६ वटा अस्पतालमा मनोसामाजिक परामर्श सेवा दिने डेस्क स्थापना गरिएको छ । साथै, हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई लक्षित गरी विशेष क्लिनिक मार्फत मानसिक तथा शारीरिक उपचार सेवा प्रदान गरिएको मन्त्री गौतमले बताउनुभयो ।
उहाले शहिद परिवारलाई लक्षित गर्दै मनोवैज्ञानिक सहजीकरणमार्फत पुनस्र्थापना गर्ने कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी दिँदै सो कार्यक्रम पुसको तेस्रो हप्तादेखि सुरु हुने बताउनुभयो । यसलाई राज्यको संवेदनशील उत्तरदायित्वका रूपमा अघि बढाइएको उहाको भनाइ छ । यसका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य जानकारी प्रदान गर्ने कार्यक्रम विस्तार गरिने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वयमा टेलिमेडिसिन सेवा विस्तारको तयारी भइरहेको पनि कार्यप्रगतिमा उल्लेख गरिएको छ ।
मन्त्री गौतमले सीमित अवधिमा नीतिगत आधार तयार गर्ने प्रयास भएको उल्लेख गर्दै आगामी दिनमा सेवा प्रवाह, पारदर्शिता र उत्तरदायित्वमा केन्द्रित सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डा.गौतमले आफ्नो फेसबुक स्ट्याटसमा यस्तो लेख्नुभएकोछ :
मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार सम्हालेको दुई महिना पुग्यो । म र मन्त्रालयको टीमलाई साथ, सहयोग र रचनात्मक सुझाव दिनु हुने सम्पूर्ण व्यक्तित्व प्रति हार्दिक आभार । दुई महिनाको समयमा सेवा प्रवाहमा धेरै सुधार र प्रणाली सुद्रिढिकरणको आधारभूत काममा धेरै प्रगति भएको छ । हामी अझ राम्रो परिणाम देखाउन अथक प्रयास गर्दैछौं । सबैजना मिलेर देश विकास गर्ने हो । यहांहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद ।











प्रतिक्रिया