काठमाडौँ।
नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत आइतबारदेखि जारी मतगणनामा हालसम्म करिब ६ हजार ४ सय मतको परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिको पछिल्लो विवरणअनुसार कुल ११ हजार ९२२ मतमध्ये हालसम्म ६ हजार भन्दा बढी मत गणना भइसकेको छ । प्रारम्भिक परिणामले उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक तथा कडा प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा उम्मेदवार डा. गुरुशरण साहले अग्रता कायम राखेका छन् । हालसम्म गणना भएको करिब ६ हजार ४ सय मतमध्ये उनले २ हजार ७७० मत प्राप्त गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका अर्का उम्मेदवार डा. कुञ्जाङ शेर्पाले २ हजार ४०९ मत प्राप्त गरेका छन् । दुबै उम्मेदवारबीचको मतान्तर घट्दो क्रममा रहेकाले अन्तिम परिणामसम्म प्रतिस्पर्धा कायमै रहने संकेत देखिएको निर्वाचन अधिकारीहरू बताउँछन् ।
यसअघि सम्पन्न मतदानमा देशभरका २१ मतदान केन्द्रमार्फत कुल ११ हजार ९२२ मत खसेको थियो । उपत्यका बाहिर र उपत्यकाभित्र गरी चरणबद्ध रूपमा सम्पन्न मतदानपछि ललितपुरस्थित स्टाफ कलेज परिसरमा मतगणना भइरहेको छ । निर्वाचन समितिका अनुसार मतगणना शान्तिपूर्ण र पारदर्शी ढंगले अघि बढिरहेको छ ।
सदस्य पदतर्फको प्रारम्भिक परिणामले पनि प्रतिस्पर्धा तीव्र देखिएको छ । हालसम्मको गणनाअनुसार डा. सारिका गोइत सर्वाधिक २ हजार ८३८ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई डा. छविलाल पन्थीले २ हजार ७३९ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा डा. युविनकुमार यादव छन्, जसले २ हजार ३३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै डा. दीपेन्द्र पाण्डे (२ हजार ०६७),डा. सम्राट पराजुली (२ हजार ०४६), डा. उज्वल ठाकुर (१ हजार ६६०), डा. सरोजकुमार साह (१ हजार ६६६), डा. रविन बस्नेत (१ हजार ६५७), डा. कुम्भराज जोशी (१ हजार ६२८), डा. अस्मिता पोखरेल (१ हजार ६०२), डा. घनश्याम पाण्डे (१ हजार ५९७) र डा. नीना राई (१ हजार ४२२ मत)सहित प्रतिस्पर्धामा छन् ।
काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य चयन हुने भएकाले सदस्य पदमा मतान्तर निकै सानो रहेकाले अन्तिम सूचीमा को पर्छ भन्ने विषय अझै खुला रहेको निर्वाचन समितिको भनाइ छ । बाँकी मतको गणनाले समीकरण उल्टिन सक्ने सम्भावना रहेकाले उम्मेदवार र समर्थकहरू परिणामप्रति चासोका साथ प्रतीक्षारत छन् । निर्वाचन समितिले सकेसम्म सोमबार राती सम्म अधिकांश मतगणना सक्ने तयारी गरेको जनाएको छ । अन्तिम परिणाम सार्वजनिक भएपछि नेपाल मेडिकल काउन्सिलको नेतृत्व संरचना स्पष्ट हुने र आगामी नीतिगत तथा नियामक निर्णयमा त्यसको प्रभाव पर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया