मेक्सिकोमा रेल दुर्घटना : १३ को मृत्यु, ९८ घाइते


काठमाडौँ ।

मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारी निकायहरूलाई तत्काल उद्धार र राहत कार्यमा परिचालन गरिएको जानकारी दिएकी छन्।

राष्ट्रपति शेनबाउमले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् सार्वजनिक गरेको वक्तव्यमा नौसेनाले १३ जनाको मृत्यु पुष्टि गरेको उल्लेख गरेकी छन्। उनका अनुसार घटनास्थलमा सरकारी उद्धार तथा राहत एजेन्सीहरू परिचालन भइसकेका छन् र घाइतेहरूको उपचारका लागि सबै आवश्यक व्यवस्था मिलाइँदै छ।

दुर्घटनापछि सम्बन्धित राज्यका गभर्नर सोलोमन जारालाई प्रभावित यात्रु र उनीहरूका परिवारलाई सम्भव सबै सहयोग उपलब्ध गराउन निर्देशन दिइएको राष्ट्रपतिले बताएकी छन्।

उक्त रेल सेवा सन् २०२३ मा सञ्चालनमा आएको थियो। प्रशान्त महासागरलाई मेक्सिकोको खाडीसँग जोड्ने रणनीतिक महत्वको यो रेलवे परियोजनालाई सरकारले थप विस्तार र विकास गर्ने योजना अघि बढाइरहेको अवस्थामा दुर्घटना भएको हो।

दुर्घटनापछि सो रेलवे लाइनमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मेक्सिकी अधिकारीहरूले जनाएका छन्।