समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

तीन दलले बुझाए १३४ उम्मेदवारको नाम


काठमाडौं ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ तीनवटा दलले आइतबार उम्मेदवारको बन्दसूची पेस गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची आज सोमबारसम्म पेस गर्न सकिने छ ।

आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको छ । पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे÷नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने छ । निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने छ । आयोगका अनुसार ३ सय जना उम्मेदवारले निस्सा लिएका छन् भने समानुपातिक निर्वाचनमा भाग लिने प्रयोजनले १ सय वटा दलले आयोगमा दल दर्ता गराएको छ ।

कान्तिपथस्थित आयोगको परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको बन्दसूचीको लागि तयारी पूरा गरेको जानकारी दिँदै आवश्यक कागजात पूरा गरेरमात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ताले भट्टराईले रीतपूर्वक बन्दसूची पेस गर्न आग्रह गर्नुभयो ।

जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पु¥याएर उम्मेदवारको बन्दसूची तयार पार्न आयोगले आग्रह गरेको थियो ।

‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पु¥याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

साथै, राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्नसक्ने पनि आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । ११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्द सूची बुझाउँदा खसआर्य ३३, आदिवासी जनजाति ३२, मधेसी १८, दलित १५, थारू ७, मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ । प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूचीउपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।